याक, चौँरीमा देखियो लम्पी स्किन

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन ५ गते १४:२४

मनाङ ।
मनाङका पशुमा लम्पी स्किनको संक्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा संक्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट २ सय ३६ गाई, गोरु र याक संक्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए ।

Advertisement


८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चाैँरी लम्पी स्किनबाट संक्रमित भएका छन् । ‘लम्पी स्किनको संक्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ’, प्रमुख कुसुमले भने, ‘लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्ने छ ।’


भेटेरिनरी अस्पतालले २ हजार डोज खोप ल्याइसकेको छ । नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा १ सय १४ पशुमा संक्रमण देखिएको छ । चामे २ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों २ को नाचे आलुबारीका पुशमा पनि संक्रमणको जोखिम देखिएको छ ।


‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ’, उनी भन्छन्, ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर)लगायत औषधि खरिद गर्न सक्नेछ ।’


यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए । रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ ।

Advertisement


पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिंगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र संक्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनले जनाए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया