
पोखरा ।
अवकासप्राप्त लाहुरेहरु कैयौं दोस्रो करियर पनि खोज्छन् र फेरि विदेसिन्छन् । केहीमात्रै स्वदेशमै बस्छन् । स्वदेशमा बस्ने पनि सबैले अवकास जीवन सिर्जनशील रुपमा बिताउन सक्दैनन् । मेजर तुलसीप्रसाद गुरुङ भने सैन्यसेवाबाट अवकासपछि पनि उत्तिकै सक्रिय रहे ।
मेजर तुलसी सक्रियताको क्षेत्र एउटै थिएन । राजनीति, शिक्षा, समाजसेवा र सहकारी क्षेत्रमा सेवा गरे । २७ वर्ष भारतीय सेनामा सेवा गरेर फर्किएपछि उनी आफ्नै गाउँ कास्कीको मिजुरेडाँडा गाविसको अध्यक्ष भएका थिए । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी भई विजयी भएका थिए । पछिल्लो समय अमरसिंह माध्यमिक विद्यालयको अध्यक्ष हुँदै पोखरा रोयल सहकारीको संस्थापक अध्यक्षदेखि २० वर्ष उनले नेतृत्व गरेका थिए । तिनै मेजर गुरुङले शनिबार भारतीय राजधानीको दिल्ली हार्ट एन्ड लङ्स इन्स्टिच्युटमा अन्तिम सास फेरे । उनी ८४ वर्षका थिए ।
केही समययता बिरामी परेका गुरुङलाई उपचारका लागि दिल्ली लगिएको थियो । उपचारकै क्रममा निधन भएका उनको पार्थीव शरीर अन्तिम संस्कारका लागि जन्मभूमि कास्की ल्याइन लागेको जानकारी पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले दिए । उनकै अनुसार ११ गते स्वर्गीय गुरुङको अन्तिम संस्कार गरिने भएको छ ।
मेजर तुलसीप्रसाद गुरुङ राजनीतिक मत, मतान्तरभन्दा माथि उठेकाले सर्वमान्य थिए । अरुको आलोचना गरेको देखिएन, सुनिएन । कहिल्यै वादविवादमा फसेनन्
५ वर्ष गाविस अध्यक्ष भएपछि गुरुङ नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को उपसभापति पनि भएका थिए । त्यतिबेला उनका सभापतिसमेत रहेका कांग्रेस नेता कृष्ण केसी गुरुङलाई निष्ठावान राजनीतिकर्मीका रुपमा सम्झन्छन् । पछिल्लो समय भने उनी राजनीतिक आस्थाभन्दा माथि उठेर समाजसेवाको कर्ममा तल्लीन थिए ।
पोखरा रोयल सहकारीका सिइओ भीम गुरुङ मेजर तुलसीलाई एक आदर्शवान नैतिकवान व्यक्तिका रुपमा सम्झन्छन् । ‘उहाँ मेरो व्यक्तिगत मात्रै नभई समाजको अभिभावक हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँबाट मैले मूलरुपमा वित्तीय अनुशासन सिकेँ । हामीलाई धेरै कुरा सिकाउनुभएको छ ।’ योजना बनाएर काम गर्ने, सोचेर निर्णय गर्ने, टिमवर्कमा विश्वास गर्ने मानिसका रुपमा मेजर तुलसीलाई आफूले सम्झने भीम बताउँछन् ।
‘अध्ययन गरेरमात्रै अघि बढ्ने बानी थियो । पोखरा रोयल सहकारी आज गण्डकी प्रदेशकै अग्रणी बन्न सक्नुको श्रेय उहाँलाई जान्छ । आमजनताले उहाँलाई हेरेरै विश्वास गरेर सहकारीमा कारोबार गरेको म ठान्छु,’ भीम भन्छन्, ‘कुशल नेतृत्व भएरै उहाँलाई २० वर्षसम्म उहाँकै नेतृत्वमा रहेर काम गर्यौं ।’
पोखरा महानगरपालिका वडा नम्बर १२ अन्नपूर्णटोलका स्थायी बासिन्दा अन्नपूर्ण टोल समाज पोखराको अध्यक्ष, पाखुरीकोट गुरुङ समाज पोखराका अध्यक्ष पनि थिए । उनले नेपाल भूप.सैनिक संघको केन्द्रीय उपाध्यक्ष तथा कास्की जिल्ला अध्यक्ष भएरसमेत जिम्मेवारी निर्वाह गरे । पोखरा—जापान बेसबल टिमको अध्यक्ष, लम चुँ प्रतिष्ठानको क्षेत्रीय अध्यक्ष, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा संयोजक, रोयल फाउन्डेसनको अध्यक्ष भएर उनले विभिन्न क्षेत्रमा योगदान पुर्याएका थिए ।
मेजर गुरुङले जीवनका हरपल सदुपयोग गरेको सामाजिक अध्येता रवीन्द्र माकाजु बताउँछन् । ‘उहाँको योगदान र सक्रियता सबैका लागि अनुकरणीय र प्रेरणादायी छ । उहाँ कहिल्यै खाली बस्नुभएन । निष्क्रिय हुनुभएन,’ माकाजु भन्छन्, ‘पोखराका विभिन्न संस्थाको विकासमा महत्वपूर्ण योगदान दिनुभयो । चाहे महायज्ञ होस् या दातृ निकाय धाएर, मेजर साहेबले अमरसिंह विद्यालयको कायापलट गर्नुभयो । आज अमरसिंह स्कुलको जुन स्वरूप र प्रतिष्ठा छ, त्यसलाई स्थापित गर्नमा उहाँको भूमिकालाई कम आकलन गर्न मिल्दैन ।’
मेजर तुलसी राजनीतिक मत, मतान्तरभन्दा माथि उठेकाले सर्वमान्य रहेको माकाजु बताउँछन् । ‘अरुको आलोचना गरेको देखिएन, सुनिएन । उहाँ कहिल्यै वादविवादमा फस्न चाहनुभएन,’ माकाजु भन्छन्, ‘मैले यो गरें, उसो गरें भनेर अहंकार प्रदर्शन गर्नुभएन । तुलसीप्रसाद एक कर्मयोगी हुनुहुन्थ्यो । प्रायः भूपू सैनिक मोजमस्तीमा रमाइरहेको मैले देखेको छु । तर उहाँले जीवनका पल पललाई समाजसेवामा लगाउनुभयो ।’ स्वर्गीय गुरुङको भौतिक शरीर नरहे पनि पोखरामा उनले छोडेका कीर्तिशेष छन् । कर्मशील लाहुेरका कीर्तिहरुमार्फत नै उनको सम्झना हुनेछ । स्वर्गीय गुरुङका श्रीमती शान्ति गुरुङ, २ छोरा, २ छोरी र ७ जना नातिनातिना छन् ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया