किताबका नाटक मञ्चन हुँदै

समाधान संवाददाता २०८० साउन ९ गते १३:००

पोखरा ।
पछिल्लो समय विद्यार्थीको रुचि नाट्य क्षेत्रमा बढ्न थालेको छ । नाटकमार्फत शैक्षिक तथा व्यवहारिक ज्ञान रमाइलो तरिकाले जान्न पाउँदा उनीहरुको रुचि बढेको हो । यही क्रममा विद्यार्थीलाई लक्ष्य गरी पोखरामा नाटक मञ्चन हुने भएको छ ।


कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ शीर्षकमा नाटक मञ्चन गर्न लागिएको हो । पोखरा थिएटरको प्रस्तुतिमासाउन १४ गते आइतबारबाट गन्र्धव नाटकघरमा यो नाटक मञ्चन हुनेछ । यसको रिहर्सल सुरु भएको पोखरा थिएटरले जनाएको छ ।


भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा यो नाटक तयार गरिँदै छ । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकाले नाटक मञ्चन गर्न लागिएको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानीय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको अपेक्षा छ ।

Advertisement


‘यो नाटकले विद्यार्थीका लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ,’ पोखरा थिएटरका अध्यक्ष्समेत रहेका निर्देशक परिवर्तनले भने । नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । उनीहरु यति बेला आफ्नो भूमिका अब्बल बनाउन रिहर्सलमा व्यस्त छन् ।


रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुशन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिस्ट म्यानेजरका रुपमा सघाउनेछन् । पोस्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिने छन् । १ घण्टा अवधिको यो नाटक मुख्य रुपमा बुकिङ सोमार्फत मञ्चन गर्ने थिएटरको तयारी छ । यसका अलावा पब्लिक सोमार्फत समेत दर्शकले नाटक हेर्न पाउने पोखरा थिएटरले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया