विशाक्त च्याउ खाँदा बौदिकालीमा २ को मृत्यु, घमीमा १० बिरामी

समाधान संवाददाता २०८० साउन ११ गते ११:०२

पोखरा ।
जंगली च्याउ खाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका ६ मा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली ६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको जानकारी दिए ।

Advertisement


उनीहरूले गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ पकाएर खाएका थिए । च्याउ खाएकामध्ये ललिता आलेमगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएका थिए । उनीहरु अहिले उपचारपछि सञ्चो भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।


स्थानीय नेत्रबहादुर सारु उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको बताए । नेत्र भन्छन्, ‘लीलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको हो ।’ बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएका थिए । गत वर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जंगलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् देखिन्छ ।

Advertisement


यता, मुस्ताङको लोघेकर दामोदरकुण्ड २ घमीमा विशाक्त च्याउ खाँदा १० कामदार बिरामी भएका छन् । खेतबारीमा पलाएको च्याउ संकलन गरी खाँदा मंगलबार रोल्पा र दाङका गरी ८ पुरुष र २ महिला बिरामी परेका हुन् ।


उनीहरु रोल्पा र दाङबाट कामकाजका लागि उपल्लो मुस्ताङको घमी गाउँमा आएका बस्दै आएका छन् । बिरामीमध्ये १ जनाको अवस्था गम्भीर रहेको र अरुको स्वास्थ्य अवस्था सामान्य भएको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले जानकारी दिए ।

Advertisement


रोल्पाका ३७ वर्षीय प्रकाश घर्तीमगर,३९ वर्षीय कुमार रोकायामगर, २८ वर्षीय कुमार पुन, ३५ वर्षीय रामु रोकाया मगर, १९ वर्षीया कल्पना घर्ती मगर, २२ वर्षीय बागवीर घर्तीमगर र २९ वर्षीय चन्द्र घर्ती मगर बिरामी छन् । यस्तै, दाङका ३९ वर्षीया वीरबहादुर कुमाल, २५ वर्षीय विकास कुमाल र ३३ वर्षीय बेलमान घर्तीमगर बिरामी परेका छन् ।


विशाक्त च्याउ खाएर बिरामी परेपछि उनीहरुलाई उपचारका लागि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । बिरामीहरुमा आँखा धमिलो हुने, पखला लाग्ने, वान्ता हुने, काम्ने, जाडो हुने र पसिना बग्ने जस्ता समस्या देखिएको थियो । बिरामी परेका सबै जनाको उपचार र खाने, बस्ने व्यवस्था अस्पतालले सित्तैमा मिलाएको मेसु तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया