कार्यक्रम बढे, घटेन घरेलु हिंसा

पोखरा ।
नेपालमा घरेलु हिंसाक कारणले महिलालाई धेरै असर परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ ।
युनिभर्सिटी अफ कन्सास अफ सोसल वेलफेयर लरेन्स अमेरिकाका सहप्राडा क्लेयर विली स्थापितले तयार गरेको अमेरिका र नेपालको लैंगिक हिंसाको अवस्था बुझाइ, समानता र फरक विषयक शोधकार्य (रिसर्च)मा नेपालमा धेरै सचेतनामूलक कार्यक्रम गरिएको भएता पनि घरेलु हिंसा बढेको औंल्याइएको छ ।
कोपिला नेपालसँगको सहकार्यमा मंगलबार भएको शोधकार्य सार्वजनिकीकरणमा डा विली स्थापितले लैंगिक हिंसामध्ये घरेलु हिंसाको सवालमा शोधकार्य गरेको जानकारी दिइन् । ‘घरेलु हिंसा संसार भरीको समस्या हो । घरेलु हिंसाले महिलालाई धेरै असर परेको छ,’ उनले भनिन्, ‘समुदायमा आधारित रणनीति अपनाएर घरेलु हिंसा न्यूनीकरण गर्न सकिन्छ ।’
उनले घरेलु हिंसा समाजमा लुकेको अपराध भएकाले बाहिर ल्याउन कठिनाइ भएको बताइन् । डा विली स्थापितले घरेलु हिंसामा परेका महिलालाई न्याय दिलाउनका लागि कानुनी कागजात जुटाउन समस्या भएको उल्लेख गरिन् । उनले घरेलु हिंसा न्यूनीकरणका लागि भएका राम्रा अभ्यास अन्यत्र लागू गर्न सकिने बताइन् ।
उनले हिंसामा परेका महिलाको विवाह दर्ता, नागरिकता प्राप्ति तथा बाल बच्चाको जन्म दर्ता गर्न समस्या रहेको जानकारी दिइन् । उनले लैंगिक हिंसामा परेका महिला व्यवस्थापनका लागि सुरक्षित आवासगृह आवश्यक रहेको उल्लेख गरिन् ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले नेपालमा बनेका लैंगिक हिंसा न्यूनीकरणका लागि बनेका कानुनी व्यवस्था घर, परिवार, समाजमा लागू गर्ने अवस्था नभएको सुनाइन् । उनले आर्थिक सशक्तिकरणले लैंगिक हिंसा न्यूनीकरण हुने दाबी गरिन् । समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा महिलाले अवसर पाएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व पाएका महिलाले समेत सफलतापूर्वक जिम्मेवारी पूरा गरेको दाबी गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सहमहामन्त्री कोपिला रानाभाट, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रहरी उपरीक्षक खड्कबहादुर खत्री, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, गैसस महासंघ गण्डकी अध्यक्ष गोपाल खड्का, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत खिमलाल सुवेदी, कोपिला नेपालका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक विना सिलवाल, पूर्व अध्यक्ष तीर्थबहादुर थापा लगायतले सरोकारवालाको सामूहिक प्रयासबाट लंैगिक हिंसा कम गर्न सकिने जनाए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया