राष्ट्रिय खेलकुदको पूर्वतयारीमा कर्णाली

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन १७ गते ११:४१

कर्णाली ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिँदै छ ।

Advertisement

खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रंगशालाको काम तीव्ररूपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधार अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ ।


डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरू कर्णाली पुगेका छन् । उनीहरूले यहाँको निर्माणाधीन रंगशालाका भौतिक संरचनाको अवलोकन गरे ।

प्रतियोगिताको समय नजिकिँदै गरेकाले संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिए । ‘कर्णालीमा दशौँ खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,’ उनी भन्छन्, ‘निर्माणाधीन रंगशालामा ३३ खेलमा २१/२२ सम्म खेलाउन सम्भव हुन्छ । बाँकी खेल अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।’


बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश रंगशालाको प्रगति उत्साहजनक भएको बताए । उनले भने, ‘रंगशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैंले ८५ करोड बजेट छुट्याए पनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’

Advertisement


कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले १० वटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको जनाए । ‘बसाइ वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ’, उनी भन्छन्, ‘संरचना निर्माण रातारात भए पनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौं ।’


संघीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुःखेसो पोख्दै उनले सदस्य सचिव सञ्ज्यालले रंगशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लामा संरचनाको अभाव रहेको सुनाए । यद्यपि अन्तर्राष्ट्रिय स्तरमा जाने खेलहरूलाई प्राथमिकता दिइने भन्दै व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया