धवलागिरि अस्पतालमा सिटीस्क्यान चाडै

समाधान संवाददाता २०८० साउन २४ गते १०:३७

गलकोट ।
धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । गण्डकीमा पोखराबाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुनेछ ।

Advertisement

गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा १० करोड बजेट विनियोजन गरेको थियो । धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ । अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले २ सय शड्ढयाको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।


पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक ४ सयदेखि ५ सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिए ।

‘गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटीस्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटीस्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो’, उनी भन्छन्, ‘अब सिटीस्क्यान गर्न पोखरा, काठमाडौँ जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।’ अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ ।

Advertisement


प्रमुख डा प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ । अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उनको भनाइ छ ।


लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटीस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । १८ विशेषज्ञ र ११ औँ तहका ३ चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु धवलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ ।


२३ जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रवृत्तिका १८ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २८ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए । अस्पतालमा आकस्मिक, प्रसूति, ओपिडीलगायत २४ वटा विभाग पूर्णरूपमा सञ्चालनमा आएको प्रमुख डा प्रधानले बताए । अस्पतालमा अहिले आइसीयू र एनआइसीयू जस्ता सेवासमेत सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया