व्यास नगरपालिकाका घर घरमै स्वास्थ्य सेवा

समाधान संवाददाता २०८० साउन २६ गते १२:३०

दमौली ।

Advertisement

तनहुँको व्यास नगरपालिकाले जनतालाई गाँउघरमै पुगरे स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले यसका लागि गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।


भौगोलिक विकटता, यातायातका समस्या जस्ता कारणले स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका ठाँउमा नगरपालिकाले गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको हो । बजारी क्षेत्रबाहेकका वडामा नगरपालिकाले गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । बजार क्षेत्र सँग जोडिए पनि विकट रहेका वडामा स्वास्थ्यको पहुँच घरमै पुयाउनको लागि गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको छ ।

Advertisement


सोती भन्छन्, ‘हाम्रो व्यास नगरपालिकामा रहेका भित्री गाँउहरु अझै विकट छन् । स्वास्थ्यको पहुँच पुगेको छैन । गाँउमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौं ।’ गाँउघर क्लिनिकमार्फत हरेक महिनामा विकट गाँउमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर स्वास्थ्य जाँच तथा औषधी वितरण गर्ने गर्दछ ।


गाँउघर क्लिनिक कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य सेवा, गर्भपतनका जटिलताको रोकथामबारे परामर्श, यौनरोग र बाझोपनबारे परामर्श, पाठेघर खस्ने समस्याको परीक्षण, किशोर किशोरीको स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा र साधारण उपचार सेवा दिने गरिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् ।स्वास्थ्य चेकजाँचपछि औषधीसमेत सित्तैमा वितरण गर्ने गरिन्छ ।

Advertisement


गाउँघरमै स्वास्थ्य सेवा पुर्‍याउन थालेपछि वडामा रहेको स्वास्थ्य चौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीकी इन्चार्ज सुनिता श्रेष्ठले सुनाइन् । यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उनले बताईन् ।


नगर प्रमुख बैकुण्ठ न्यौपानेले जनतालाई गाँउघरमै सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरेको बताए । गाउँघरका महिलाले पुरुष चिकित्सक, स्वास्थ्यकर्मीसँग खुलेर आफ्नो स्वास्थ्य समस्या नराख्ने भएकाले यस कार्यक्रममा महिला टिम नै खटाइएको उनको भनाइ छ । उनले भने, ‘महिलाले खुलेर स्वास्थ्य समस्या राखून् भनेर महिला चिकित्सक, स्वास्थ्यकर्मीको टोली नै खटाएका छौं ।

उनीहरुसँग महिलाले खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन सक्छन् ।’ कार्यक्रममार्फत चिकित्सक नै घरदैलोमा पुगेर गर्भवती जाँच, सुगर, ब्लड प्रेसरको नियमित चेकजाँच सेवा दिने भएकाले ग्रामीण भेगका जनताले यी सेवाका लागि दमौली आइरहनु नपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया