पोखराका ट्याक्सी मिटरमा चल्ने

पोखरा ।
पोखराका ट्याक्सी मिटर चल्न नमानेको गुनासो धेरै आएपछि शनिबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सरोकारवालासँग अन्तक्र्रिया आयोजना गर्यो । कार्यक्रममा सहभागी ट्याक्सी व्यवसायीले गण्डकी प्रदेश सरकारले २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार गुड्न सहमति जनाएका छन् ।
यातायात मन्त्रालयले २०७८ फागुन १ गतेदेखि लागू हुने गरी भाडादर समायोजन गरेको थियो । भाडा समायोजनापछि पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको जनाए ।
इन्धनको मूल्यमा हुने उतारचढाव, बढ्दो महँगी जस्ता कारणले मिटर चल्न समस्या हुने गरेको उनको भनाइ छ । यो विषयमा ट्याक्सी व्यवसायीलाई मात्र दोष दिने गरिएको भन्दै उनले गुनासो गरे । “हामी सहमति पालना गर्न तयार छौँ, व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्यो”, उनले भने, “महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ ।”
इन्धनको भाउ घटबढ हुँदा स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था गर्न उनले माग गरे । तिवारीले रातो प्लेटका गाडीले पनि यात्रु बोकिरहेको दाबी गर्दै त्यसलाई रोक्न माग गरे । लयातायात मन्त्री रेशम जुग्जालीले ट्याक्सी व्यवसायीलाई सहमति पालना गर्न आग्रह गरे । मिटरमा नचल्ने ट्याक्सी चालकलाई कारवाही हुने उनले चतावनी दिए । मन्त्री जुग्जालीले भने, “स्वचालित भाडादर पनि लागू हुन्छ, व्यवसायीलाई मर्का पर्ने देखिएमा फेरि भाडा समायोजन गर्न सकिन्छ तर ट्याक्सी मिटरमा चल्नैपर्छ ।”
उनले ट्याक्सी व्यवसायमा देखिएको रुट परमिटको समस्या चाडै हल हुने जानकारी दिए । ट्याक्सीमा २ वर्षअघिको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ लाग्छ । १५ किमिभन्दा लामो यात्रामा १ किमीको. ३७ रुपैयाँ ५० पैसा भाडा तोकिएको थियो ।
यातायात्र मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले ट्याक्सी मिटरमा नहिँड्दा यात्रुको बारम्बार गुनासो आएको जनाए । उनले एक हप्ताभित्रमा पोखरा उपत्यकामा ट्याक्सी मिटरमा गुड्नुपर्ने उल्लेख गरे । “मिटर प्रणालीमा नचले कारबाही हुन्छ, ट्राफिक प्रहरी र मन्त्रालयले अनुगमन गर्छन्,” उनी भन्छन् । दुई वर्षअघि भएको सहमतिमा ट्याक्सी व्यवसायीले भाडा तिरेको बिल दिनुपर्ने, जिपिएस जडान गर्नुपर्ने छुट्टै पोशाक हुनुपर्ने लगायतका प्रावधान थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया