कागवेनी तीर्थस्थलका धार्मिक संरचनामा ५ करोडको क्षति

समाधान संवाददाता २०८० भदौ ५ गते १०:३८
साउन २९ को बाढीले पुर्‍याएको क्षतिबारे जानकारीसहित स्थानीयको राहतमा जुट्न आह्वान गर्दै सोमबार पोखरामा मुक्तिनाथ बाबा स्वामी कमलानयनाचार्य । तस्बिरः समाधान

पोखरा ।

गएको साउन २९ गते आएको बाढीले मुस्ताङको कागवेनी तीर्थस्थलमा धार्मिक क्षेत्रका भौतिक संरचनामा ५ करोड रुपैयाँको क्षति भएको सरोकारवालाले जनाएका छन् । आश्रम लगायत धार्मिक तीर्थस्थल निर्माण र संरक्षणमा अगुवाइ गर्दै आएका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यले बाढीले क्षति पुर्‍याएपछि भक्तजनको सेवा गर्न नपाइएको सुनाए ।


आउँदो सोह्राश्राद्धका बेला पितृतर्पणका लागि पुग्ने भक्तजनलाई गासबासको प्रबन्ध गर्न सकिएला कि नसकिएला भन्ने चिन्ता स्वामी कमलानयनाचार्यले व्यक्त गरे । ‘तर हामीलाई सबैभन्दा चिन्ता त्यहाँका स्थानीय बासिन्दालाई छिटो राहत पुगोस् भन्ने हो,’ पोखराका पत्रकारहरु माझ सोमबार उनले भने ।

Advertisement


बाढीले गण्डकीमाताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृहत लगायतमा बढाएको जानकारी स्वामी सुदर्शन प्रपन्नाचार्यले दिए । ती संरचनाहरु स्वामी श्रीजी च्यारिटेबल ट्रस्टको माध्यमबाट निर्माण भएका थिए ।

सोह्रश्राद्धमा पुग्ने भक्तजनलाई सेवा कसरी पुर्‍याउने भन्ने चिन्ता

Advertisement

मुक्तिनाथ दर्शन र कागवेनी तीर्थस्थल जाने भक्तजनहरुका लागि उक्त ठाउँमा गएको ३५ वर्षदेखि निशुल्क भोजन तथा बसोबासको व्यवस्था हुँदै आएको छ । दान संकलनबाटै निशुल्क खाना र धर्मशालामा बसोबासको प्रबन्ध मिलाइएको हो ।
मुक्तिनाथ सन्त सेवाआश्रम रामघाट पोखराका महेश पराजुलीले कागवेनी तीर्थस्थल पुननिर्माणमा भन्दा स्थानीयको राहतका लागि स्वामी कमलानयनाचार्यको ध्यान केन्द्रित रहेको जानकारी दिए । भागवत प्रपन्नाचार्यले समेत सोही कुरामा सहमति जनाए ।


कागवेनी तीर्थस्थलका ४ वटा भवनमध्ये अहिले एउटामात्रै अस्तित्वमा रहेको र त्यसमा पनि दुई तलासम्म बालुवा भरिएको सुदर्शन प्रपन्नाचार्यले बताए । ‘भक्तजनहरुका लागि खाना पकाउने भाँडाकुँडा र ओढ्नेओछ्याउने सबै बगे, ग्यासका सिलिन्डर मात्रै ३५ वटा थिए,’ उनले भने, ‘देवी माताको मन्दिर र मूर्ति सबै बगे ।’


मुक्तिनाथ ४ नाथहरुमध्ये श्रेष्ठ रहेको सुनाउँदै स्वामी कमलानयनाचार्यले २०६३ पछि पितृउद्धार महायज्ञ गरी मुक्तिनाथको थप प्रचार गरिएको जानकारी दिए । उनले बद्रीनाथमा हरिद्वार हुँदै गएजस्तै पोखरा हुँदै मुक्तिनाथ गइने हुँदा पोखरा लगायत द्वार एवं मार्गहरुमा पनि भक्तजनका लागि आश्रमहरु निर्माण भएको बताए ।

उनकै भनाइमा पोखरा हुँदै मुक्तिनाथ जाँदा बाटोबाटोमा निशुल्क खानेबस्ने धर्मशाला तथा आश्रमहरु निर्माण भएको जानकारी पनि दिए । ‘सक्नेहरु त मुक्तिनाथ, कागवेनीमा पनि सुविधासम्पन्न होटलहरुमा बस्नुहुन्छ, नहुनेहरु एक पैसा पनि खर्च नगरी जान आउन सक्ने आश्रमहरु प्रबन्ध छन्,’ उनले भने । उनकै भनाइमा ती सबै भक्तजनहरुकै दानबाट चलेका छन् ।’


दसैंअघिको सोह्रश्राद्धमा कागवेनी तीर्थस्थलमा पितृ तर्पणका लागि हिन्दु सनातन परम्पराका धर्मालम्वीहरु पुग्छन् । त्यहाँ गएर श्राद्ध गर्दा पितृहरुको उद्धार हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ । ‘गण्डकी समान संसारमा अरु कुनै नदी छैनन्, शालिग्राम समान अरु कुनै देव छैनन्,’ मुक्तिनाथ बाबाले भने । स्वामी कमलानयनाचार्यको पत्रकार सम्मेलनमा मुक्तिनाथ सन्त सेवाआश्रम पोखराकी उपाध्यक्ष मीना भण्डारीले कागवेनीमा २०६३ सालपछि आयोजित पितृउद्धार महायज्ञमा पुग्दाको अनुभव सुनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया