लाइसेन्सको ट्रायलमा ‘मारुतीअल्टो’ पनि चलाउन पाइने

अहिलेसम्म ड्याट्सन गाडीबाट मात्रै ट्रायल दिने व्यवस्था छ

समाधान संवाददाता २०८० भदौ ५ गते १०:५७

पोखरा ।
सवारी चालक अनुमतिपत्र प्राप्त गर्नु निकै कठिन छ । पोखरामा झन् अन्तभन्दा गाह्रो छ भन्ने गुनासो धेरैले गर्छन् । त्यसको एउटा कारण हलुका सवारी साधनको ट्रायलमा ड्याट्सन गाडी चलाउनुपर्ने बाध्यता हो भन्ने गुनासो छ । सोही कारण पोखराबाट कति त नवलपुर जाने वा कति वीरगन्ज जाने गरेको गुनासो आफूकहाँ पनि आएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्था मन्त्री रेशम जुग्जालीले सोमबार पत्रकारहरुलाई सुनाए ।


त्यही समस्याको समाधान गर्न अबदेखि मारुती अल्टो ८०० सिसीको गाडीबाट पनि ट्रायल दिन पाउने व्यवस्था गर्न लागिएको छ । यातायात व्यवस्था कार्यालय (लाइसेन्स)कास्कीलाई त्यसका लागि मंगलबार पत्राचार गर्ने मन्त्री जुग्जालीले सुनाए । उक्त कार्यालयलाई ट्रायलका लागि गाडी उपलब्ध गराउने निजी कम्पनी भने छुट्टै छ । उसैले ड्याट्सन गाडीमात्रै उपलब्ध गराउँदै आएको छ । मन्त्री जुग्जालीले गाडी सप्लायर्ससँग पनि कुराकानी गरिसकेको र अल्टो उपलब्ध गराउन ऊ राजी भइसकेको जानकारी दिए ।

मन्त्रालयमा कार्यभार सम्हाल्दा ४६ रुग्ण आयोजना रहेकोमा त्यो संख्या अहिले १७ मा झरेको मन्त्रीको दाबी

Advertisement


अल्टोभन्दा ड्याट्सन गाडीबाट ट्रायल दिँदा अंग्रेजी आठ अंकको घुमाउरो धेरैजना फेल हुने गरेको छन् । यद्यपि अचेल पूर्णांकमा ७० ल्याउँदा पनि उत्तीर्ण हुने प्रावधान भने छ । ट्रायल दिनेमध्ये आधामात्रै उत्तीर्ण हुने गरेका छन् । कास्कीमा साताका ६ दिन नै ट्रायल परीक्षा दिने व्यवस्था भने मिलाइएको छ । मन्त्री जुग्जालीले पोखराको चाप कम गर्न साविक धौलागिरिमा लामोसमयदेखि बन्द रहेको ट्रायल सुचारु गर्न लागिएको जानकारी पनि दिए । उनले पोखराकै लेखनाथ क्षेत्रमा समेत अर्काे ट्रायल केन्द्रको योजना पनि सुनाए । मन्त्री जुग्जाली आफ्नो कार्यकालको १०० दिने उपलब्धि सार्वजनिक पनि गर्दै थिए ।


मंगलबार सम्झौता भई केही दिनभित्र बागलुङबाट चार पाङ्ग्रे सवारीको सवारी चालक अनुमति पत्रको परीक्षा सुरु गर्ने मन्त्रालयको तयारी छ । ०५९ बाट बागलुङमा चार पांग्रे सवारीको परीक्षा रोकिएको थियो । राइड सेयरिङलाई अनुमति दिने सरकारको योजनाबारे अहिले गम्भीर छलफल भइरहेको उनले खुलाए ।

Advertisement


पोखरा उपत्यकाका ट्याक्सी मिटरमा चलाउने निर्णय भएको जानकारी मन्त्रीले दिए । मन्त्रालयले २० वर्षे ट्याक्सी विस्थापन गर्दा विद्युतीय भाडा कार दर्ता गर्न सार्वजनिक विद्युतीय सवारी सञ्चालन मापदण्ड बनाएको छ । यातायात कार्यालयहरुमा बिचौलियाको प्रवेश कम गर्न हेल्प डेस्क राख्ने तयारी भएको छ ।


उनकै भनाइमा भौतिक पूर्वाधार मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउँदै छ । आगामी वर्षबाट यही गुरुयोजना अनुसार सडक निर्माण, मर्मतसम्भार, वर्गीकरण र स्तरोन्नति गर्ने मन्त्रालयको तयारी छ । मन्त्री जुग्जालीले अर्काे आर्थिक वर्षभित्र मन्त्रालयमा उल्लेख सुधार गर्ने वाचा गरे । ‘भौतिक पूर्वाधारमा अहिलेको अहिले परिणाम देखाउन सकिँदैन । यो आर्थिक वर्ष सकिँदा यहाँ धेरै बेथिति अन्त्य भएको र नयाँ काम भएको देख्न पाइनेछ,’ उनले भने ।


मन्त्री जुग्जालीले आयोजनाहरु व्यवस्थित तवरले छनोट र कार्यान्वयन गर्न थालिएको उल्लेख गरे । जुग्जालीले यो वर्षदेखि आयोजना डुब्लिकेसन, किनबेच र ससाना योजनामा बजेट छर्ने प्रवृत्ति रोकिएको जनाए । गण्डकी प्रदेश सरकारले यो वर्ष यो मन्त्रालयमा ३० लाखभन्दा साना योजना बजेटमा समावेश गरेको छैन । यसरी साना योजना कटौती गर्दा आयोजनाको संख्यामा उल्लेख्य कटौती भएको छ । अघिल्लो आर्थिक वर्ष भौतिक पूर्वाधार मन्त्रालयमा १ हजार ९ सय योजना रहेकोमा चालु आर्थिक वर्षमा १ हजार १ सयमात्र योजना छन् ।


मन्त्री जुुग्जालीले आफ्नो कार्यकालको मुख्य उपलब्धिमा रुग्ण आयोजनाहरु घटाउनुलाई राखेका छन् । यो मन्त्रालयमा कार्यभार सम्हाल्दा ४६ रुग्ण आयोजना रहेकोमा त्यो संख्या अहिले १७ मा झरेको उनले जानकारी दिए । मातहतका कार्यालय प्रमुखहरुलाई कि कामअघि बढाउन, कि ठेक्का तोडेर पुरानो कुनै पनि आयोजनालाई रुग्ण अवस्थामा चालु आर्थिक वर्षमा नराख्न निर्देशन दिइएको उनले सुनाए । ‘वडा र प्रदेशका आयोजना नछुट्टिने अवस्था थियो । अहिले हामीले त्यसमा सुधार गरेका छौं । यसरी प्रदेशका योजनाको मापदण्ड बन्दा काम गुणस्तरीय बनाउन पनि सहयोग पुग्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया