सुशासन र विकासका लागि सामूहिक प्रयास आवश्यक

समाधान संवाददाता २०८० भदौ ६ गते १३:२१

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पोखरा महानगरमा सुशासन र विकासका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशबाट पोखरा महानगरमा सरुवा भएर आएका थापालाई पोखरा महानगर सार्वजनिक लेखा समितिको ३० औँ बैठकमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘एकजनाले गरेर मात्रै हुँदैन । टिम चाहिन्छ । त्यसको गुण दोषको जसअपजस सबैले लिनुपर्छ ।’ उनले आफुमा आस र त्रास दुबै नभएको बताउँदै कानुनको अधिनमा रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने सुनाए ।


प्रमुख प्रशासकीय अधिकृत थापाले पदाधिकारी, कार्यपालिका सदस्य, महाशाखा, शाखालाई बोलाउने, सोधपुछ गर्ने, निर्देशन दिनेसमेतको अधिकार सार्वजनिक लेखासमितिमा निहित रहेको उल्लेख गर्दै सकारात्मक भावका साथ प्रयोग गर्न सार्वजनिक लेखा समितिलाई सुझाव दिए ।


उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम मलेपा, अख्तियार र प्रहरीको समेत भूमिकामा रहेकोे लेखा समितिले सु–शासन र सार्वजनिक सम्पत्तिको संरक्षणमा समेत पालिका सरकारलाई आवश्यक लिखित निर्देशन दिन सक्नुपर्ने सुझाव दिए ।
उनले सार्वजनिक लेखा समितिले निर्देशन गरेका विषयहरुको कार्यान्वयनका लागि गम्भीरतापूर्वक ध्यान दिने बताए । उनले कर्मचारीहरुलाई मापदण्ड बनाएर जिम्मेवारी प्रदान गर्ने योजना रहेको समेत बताए । ‘कर्मचारी सम्वन्धि मापदण्ड बनाउने र त्यसलाई पास गरेर जान्छौं,’ उनले भने ।

Advertisement

लेखना समिति सदस्य रामजी पौडेलले पोखरा महानगरपालिकामा अनियमितता, कर्मचारी तन्त्र अस्थव्यस्त रहेको र त्यसलाई सुधार गर्नुपर्ने खाँचो रहेको बताउदै सुन्दर, सुशासनयुक्त महानगर बनाउन प्रमुख प्रकाशकीय अधिकृतका रुपमा भुमिका खेल्न आग्रह गरे । प्रमुख प्रकाशकीय अधिकृत थापालाई लेखा समिति संयोजक झपट रानाभाटले कार्यविधि हस्तान्तरण समेत गरेका थिए ।

पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकमा लेखा समिति सदस्य बलराम पौडेल, विष्णुमणि बराल, दुर्गा थापा केसी र सदस्य सचिव रोमनाथ उपाध्यायको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया