
जोमसोम ।
विदेशी सेनासहित ८० जना सैनिक प्रशिक्षार्थीहरुलाई मुस्ताङमा करिब एक महिना लामो सैन्य अभ्यास तालिम सुरु गरिएको छ । पर्वतीय क्षेत्रमा हुनसक्ने घटना र मानवीय उद्धार, पर्वतीय सैन्य अभ्यास, हिमाली क्षेत्रको वातावरणीय अनुभव आदान/प्रदान लगायत विषयमा नेपाली सेनाले मुस्ताङको जोमसोम र कैसाङ क्याम्प क्षेत्रमा सैन्य अभ्यास तालिम सञ्चालन गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरुप भदौको दोस्रो हप्तादेखि बहुराष्ट्रिय सेना सम्मिलित सिजन ४६ को सैन्य एडभान्स अभ्यास तालिम दिन सुरु गरिएको हो ।
मुस्ताङमा सन् १९९० देखि विदेशी सैनिक प्रशिक्षार्थीहरुलाई सहभागी गराएर सैन्य अभ्यास तालिम दिन सुरु गरिएको नेपाली सेनाका सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले मुस्ताङको उच्चशिखर शिक्षालयबाट हिमाली क्षेत्रमा सेनाले संञ्चालन गर्ने विभिन्न कारवाहीहरुको तालिम सञ्चालन गर्ने गरिएको बताए ।
हिमाली पर्वतीय क्षेत्रमा नेपाली सेनाले गर्नुपर्ने सम्पूर्ण सैन्य कार्यसम्पादनको मुलभूत सिद्धान्तमा आधारित एडभान्स र आधारभूत तालिम बर्सेनि आयोजना हुने गरेको सैनिक प्रवक्ता भण्डारीको भनाइ छ । समुद्री सतहको २५ सय मिटरदेखि ५५ सय मिटरको पर्वतीय क्षेत्रमा नेपाली सेनालाई हिमाल आरोहण हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम दिने गरिएको छ । यहाँ नेपाली तथा विदेशी सेनाहरुले संयुक्त रुपमा हिमाली तथा उच्चपहाडी युद्धकलाका साथै चट्टान कला र हिमकला सम्बन्धी सीप तालिम लिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ ।
नेपाली तथा विदेशी सेनाहरुले हिमाली तथा उच्चपहाडी युद्धकलाका साथै चट्टान कला र हिमकला सम्बन्धी सीप तालिम लिने
यस वर्ष पनि हिमाली सैन्य अभ्यास तथा उद्धार तालिमका लागि १० जना विदेशी सेना र ७० जना नेपाली सेनाले सैन्य एडभान्स तालिम लिइरहेको सैनिक प्रवक्ता भण्डारीले उल्लेख गरे । जसमा ७ जना महिला र ७४ जना पुरुषको सहभागी छ । नेपाली सेनाको तर्फबाट ३ जना अधिकृत दर्जाका महिला र ३ जना अन्य दर्जाका महिला सेनाको सहभागी रहेको छ । पुरुषतर्फ ५ जना अधिकृत दर्जाका र ६४ जना अन्य दर्जाका सैनिकको सहभागी रहने प्रवत्ता भण्डारीले जानकारी दिए ।
यस वर्ष सैन्य अभ्यास तालिममा सहभागीमध्ये अमेरिका, भारत, बंगलादेश, पाकिस्तान, माल्दिप्स र दक्षिण अफ्रिका लगायत सेना छन् । तालिम असोजको पहिलो हप्ता समापन हुने सैनिक प्रवक्ता भण्डारीले बताए । हिमाली क्षेत्रको पर्वतीय उद्धार तथा मानवीय सहयोगका साथै पर्वतीय सैनिक अभ्यासका लागि क्षमता अभिवृद्धि गर्न नेपाली सेनाले मुस्ताङमा विभिन्न सैन्य अभ्यास गर्दै आइरहेको छ । मुस्ताङको जोमसोम, कैसाङ क्याम्प र याकखर्कमा सैन्य अभ्यास हुन्छ । सेनाले सफा हिमाल अभियानका लागि पनि तालिम लक्षित गरेको छ ।
मुस्ताङमा पर्वतीय हिमाली सैन्य अभ्यास जस्तै सेनाले विभिन्न स्थानमा अन्य शिक्षण संस्थाहरुमा विभिन्न तालिम दिने गरेको प्रवक्ता भण्डारीले जानकारी दिए । ती संस्थाहरुमा पनि विदेशी सेनाको सहभागिता रहने गरेको प्रवक्ता भण्डारीले खुलाए । सेनाले स्टाप कलेज, सैनिक प्रतिष्ठान, प्यारा तालिम शिक्षालय, जंगल वार्कर लगायत शिक्षालयमा तालिम दिने गरेको उनको भनाइ छ । नेपाली सेनाको अन्तराष्ट्रिय अभ्यास भित्र रहेर विभिन्न मुलुकका सेनाबीच आपसी अनुभव आदान/प्रदान साट्न योगदान पुग्ने प्रवक्ता भण्डारीले जनाए । नेपाली सेनाको मातहतमा सैनिक उच्चशिखर शिक्षालयले हालसम्म मुस्ताङमा विभिन्न २३ देशका ३१७ जना विदेशी सेनाले यस्तो तालिम लिइसकेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया