भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी भाेः मन्त्री गुरुङ

समाधान संवाददाता २०८० भदौ २५ गते ११:२१

पोखरा ।
संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बिपीले कोरेको सुशासनको बाटोलाई अंगाल्दै कांग्रेस अगाडि बढ्न जरुरी भएको बताएका छन् ।

Advertisement


११०औं बिपी जयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त कुरामा जोड दिए । भ्रष्टाचारका फाइलहरु खोल्दै जाने क्रममा सरकारलाई विभिन्न क्षेत्रबाट घेराबन्दी गरिएको उनले सुनाए ।


‘मुख्य राजनीतिक पार्टीले भ्रष्टाचारका ठूला फाइलहरु किन खोल्दैनन् भन्ने कुरा बल्ल मन्त्री भएपछि थाहा पाए, उनले भने, ‘फाइल नखोल्न चौतर्फी दबाब र रकमका ठूला–ठूला चलखेल हुँदारहेछन् ।’ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राणा विरुद्ध आन्दोलन गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई प्रमाणित गरेर देखाउने बिपीको बाटो अगाल्न सकिएन भने कांग्रेस पछि पर्ने बताए । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कांग्रेसलाई बलियो बनाउन बिपीले कोरेको बाटोमा हिँड्नुपर्ने बताए ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका उपसभापति कल्पना तिवारी, पूर्वमन्त्री मेखलाल श्रेष्ठ, प्रदेश समितिका महामन्त्री विष्णुप्रसाद लामिछाने, किरणबाबु पन्त, कास्की सभापति किशोरदत्त बराल, बिपी स्मृति पुस्तकालय गण्डकीका उपाध्यक्ष कुसुमाकर न्यौपाने, कमल सापकोटा, शिव त्रिपाठी, सम्मानित व्यक्तिहरु चन्द्रप्रसाद न्यौपाने, लोकनाथ आचार्य लगायतले भनाइ राखेका थिए ।


बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेश, पोखराका अध्यक्ष माधवप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसमा उत्कृष्ट योगदान पु¥याउन गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक–एक जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई २५ हजार नगदसहित दोसल्ला र पमाणपत्रद्वारा सम्मान गरिएको हो ।

Advertisement


सम्मानित हुनेहरुमा गोरखाबाट चन्द्रप्रकाश न्यौपाने, मनाङबाट कोमल घले, लमजुङबाट पृथ्वीलाल गुरुङ, तनहुँबाट जीवनध्वज गुरुङ, कास्कीबाट नन्दा गुरुङ, नवलपुरबाट दुलारी महतो, स्याङ्जाबाट खगेन्द्रराज रेग्मी, पर्वतबाट लोकनाथ आचार्य, म्याग्दीबाट अजय मिलन श्रेष्ठ, बागलुङबाट कुलराज गौतम र मुस्ताङबाट सुवर्ण विष्ट रहेको जानकारी पुस्तकालयका कोषाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकीका प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले दिए ।

तपाईको प्रतिक्रिया