‘सुवास सर्वस्वीकार्य नेतृत्व’

समाधान संवाददाता २०८० असोज ३ गते १५:०८

पोखरा ।
राजनीति दलहरुबीच एकापसमा बढ्दो अविश्वास तथा मनमुटावलाई हटाउन नेकपा (एमाले)ले एकता र मेल मिलापको राजनीतिक वातावरण निर्माणका लागि भूमिका खेल्ने भएको छ ।

Advertisement


मुलुकमा दिगो शान्ति कायम गर्न तथा संविधानको सफल कार्यान्वयनका लागि पार्टीले एकता र मेल मिलापको राजनीतिक वातावरणको लागि अग्रसरता देखाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले मंगलबार आयोजना गरेको नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ विषयक विचार गोष्ठीमा उपाध्यक्ष शाक्यले राजनीतिक दलको एकता र सहकार्यले २०६२/०६३ सालको जनआन्दोलन सफल तथा संविधान निर्माण सम्भव भएको बताइन् ।


उपाध्यक्ष शाक्यले सबै दलका नेतालाई मिलाएर संविधान निर्माणमा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले सन्तुलित भूमिका खेलेको उल्लेख गरिन् । ‘सबै दल मिलेर संविधान निर्माण गरेको भएता पनि संविधानको कार्यान्वयन हुन सकेको छैन । समाजवादमा जाने लक्ष्य हासिल गर्न सकेका छैनांै,’ उनले भनिन्, ‘समाजवादमा जाने आधार तयार गर्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दल मिल्नुको विकल्प छैन ।’

धेरै कठिन अवस्थामा समेत सबै दलका नेतालाई मिलाउन सक्ने सुवासको क्षमताको सम्झना


उनले मुलुक असमान्य अवस्थामा रहेकाले निषेध र संकीर्ण राजनीतिलाई त्यागेर सबै दल एक जुट भएर जान प्रस्ताव गरिन् । सबै दलले सुवासको योगदानबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष शाक्यले सबै दल एकता र मेलमिलाप गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा लाग्नुपर्ने खाँचो औंल्याइन् ।

Advertisement


सबै दललाई मिलाउने र सन्तुलनमा राख्न सक्ने सुवासको खूबीका कारण विगतमा संविधान बनेको स्मरण गर्दै उपाध्यक्ष शाक्यले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सबै दललाई मिलाउन एमालेले भूमिका खेल्ने बताइन् ।


पार्टीका केन्द्रीय कमिटीका सचिव गोकर्ण बिष्टले प्रतिनिधि सभाको पुनस्र्थापनादेखि नयाँ सविधान निर्माणसम्म सुवास नेम्बाङको भूमिकाले सबै दलको साझापात्र भएको बताए । संविधान सभाका सबै असहमतिका बुँदालाई सहमतिमा परिणत गर्दै सबै स्वीकार्य संविधान जारी गर्न नेम्बाङको कार्यशैलीले सम्भव भएको उल्लेख गर्दै उनले सभामुख तथा संविधान सभाको अध्यक्ष हुँदा संसदीय परम्परा र मर्यादालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गौरव गर्न लायक नेता भएको टिप्पणी गरे ।


पार्टीका स्थायी समितिका सदस्य किरण गुरुङले सुवास नेम्बाङको क्षमताको कारण सर्वस्वीकार्य संविधान जारी भएको दाबी गरे । उनले नेम्बाङ नेपाली राजनीतिको भद्र, शालिन र मिजासिलो नेता भएको बताए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले सुवासको सुक्ष्म व्यवस्थापकीय क्षमताको कारण सबै जटिलतालाई हटाउँदै नेपालको संविधान बनेको चर्चा गरे । उनले सुवासले पार्टीको आन्तरिक व्यवस्थापनमा चित्तबुझ्दो उपाय खोज्ने बताए ।


पार्टीका स्थायी समितिका सदस्य थममाया थापाले महिला, दलित, आदीबासी जनजाति, सिमान्तकृत र अल्पसंख्यको मुद्दालाई संविधानमा समेट्न सुवास नेम्बाङले भूमिका खेलको जानकारी दिइन् ।


गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले धेरै कठिन अवस्थामा समेत सबै दलका नेतालाई मिलाउन सक्ने सुवासको क्षमताको कारण संविधान जारी भएको बताए । नेकपा (माओवादी केन्द्र)का नेता राजकाजी गुरुङले सविधान सभाबाट संविधान जारी गर्न सुवास नेम्बाङको योगदान सदाका लागि स्मरणीय भएको उल्लेख गरे ।


कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडीले संविधान निर्माणमा सुवास नेम्बाङले खेलेको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया