गण्डकीका १४ पालिकामा खेल मैदान निर्माण

समाधान संवाददाता २०८० असोज ५ गते ११:३४

गण्डकी ।
१ स्थानीय तह, १ खेल मैदान कार्यक्रमअन्तर्गत गएको वर्ष गण्डकी प्रदेशका १४ पालिकामा खेल मैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिका लगायत स्थानीय तहमा खेल मैदान निर्माण गरिएको हो ।

Advertisement


१ खेल मैदानका लागि ५ लाख २५ हजारदेखि बढीमा १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताए । ‘चालु आवमा पनि खेल मैदान निर्माणका लागि ४ करोड बजेट छ’, उनी भन्छन्, ‘मन्त्रालयले मापदण्ड बनाएर नयाँ प्रस्ताव आह्वान गर्छ ।’


गत आवमा ‘१ स्थानीय तह, १ खेल मैदान’ कार्यक्रमका लागि १ करोड १५ लाख विनियोजन गरिएको थियो । प्रदेशका ८५ वटै स्थानीय तहमा खेल मैदान बनाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीमा आव २०७५/०७६ देखि नै यो कार्यक्रम सुरु भएको थियो ।

Advertisement


खेल मैदानसहित गत आवमा ठूला साना गरी १ सय ३७ वटा खेल पूर्वाधारका योजना सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । तिनमा ५ लाखदेखि १५ लाखसम्मको बजेट खर्च भएको हो । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति गरिएको छ ।


संघ सरकारबाट आएको शसर्त बजेटका १५ वटा खेल पूर्वाधारका योजना पनि गत आवमा सम्पन्न गरिएको सूचना अधिकारी अधिकारीले उल्लेख गरे । मन्त्रालयले पूर्वाधारतर्फ खेल मैदान, कभर्ड हल, व्यायामशाला आदि निर्माण गर्नाका साथै स्तरोन्नतिका योजना सञ्चालन गर्दै आएको छ । खेल मैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड नै बनाएर कार्यक्रम कार्यान्वयन गरिँदै आइएको हो ।

Advertisement


हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रिय स्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि आयोजनाको ‘डिपीआर’ बनाइने भएको छ । आव २०७५/०७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन ।

तपाईको प्रतिक्रिया