
पर्वत ।
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।
यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा आठ वटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर विद्यालयमा विद्यार्थी भने एक जना मात्र छ ।
कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ति एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए ।
कुनै समय २५÷३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उनको भनाइ थियो । एक÷दुई जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरु गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।
विसं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै संकटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए ।
विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए। उनले भने, “स्कुलका भवन देखेर टिठ लाग्न थालेको छ । गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नहुँदा यस्तो समस्या आएको हो ।”
“गाउँमा रहेका अधिकांश घर खाली भइसकेका छन् । मान्छे भएका घरमा पनि वृद्धवृद्धाबाहेक कोही छैनन्”, अध्यक्ष केसीले भने, सदरमुकाम कुश्माबजारबाट एक घण्टा पैदल यात्रा र सवारीसाधनमा १५ मिनेटमै पुगिने यस विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।”
विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी छ वटा कक्षाकोठाका कुर्ची, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए ।
कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभई वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको बताए । गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उनको भनाइ थियो । विद्यार्थी नभएपछि साना बालबालिकाका लागि इसिडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया