‘अब देशमा दुई पार्टी भए पुग्छ’

रिखिराम जिसी २०८० कार्तिक १३ गते ११:०९

नेकपा एमाले सातै प्रदेशको अधिवेशन सकेको छ । केही प्रदेशमा निर्वाचन भए भने केही प्रदेशमा सर्वसम्मत । गण्डकी प्रदेशमा भने २ प्यानलगत प्रतिस्पर्धा भयो । गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट समूहको प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा खगराज समूहका मायानाथ अधिकारीलाई पराजित गर्दै पृथ्वीसुब्बा समूहमा नवराज शर्मा निर्वाचित भए । शर्मा यसअघि पनि एमाले गण्डकी अध्यक्ष थिए । उनै शर्मासँग एमाले गण्डकी अधिवेशन र आगामी योजनाबारे रिखिराम जिसीले गरेको कुराकानीः


भर्खरै प्रतिनिधिबाटै चुनिएर अध्यक्ष बन्नुभयो । पहिले केन्द्रले सीधै अध्यक्षको जिम्मेवारी दिएको थियो र अहिले प्रतिनिधिले चुनेर आउँदा के फरक हुने रैछ ?
खासै भिन्नता हुँदैन । पार्टीको काम गर्ने हो । काम गर्ने भूगोल उही हो । हिजो जति बेला पनि अधिवेशन गर्न जिम्मेवारी थियो । कति समय काम गरिन्थ्यो भन्ने ठेगान थिएन । अहिले एक खालको ४ वर्षको कार्यकाल गर्ने भन्ने छ । एक खालको योजना बनाएर काम गर्ने भन्ने छ ।


एमाले गण्डकी अधिवेशनको निर्वाचन गुटगत प्रतिस्पर्धा भयो । यस्तो गुटको लडाइँलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको आवरण दिन मिल्ला र ?
हामीले पहिलेदेखि नै पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा, प्रजातान्त्रिक अभ्यासलाई प्रोमोट गरेकै हो । सकेसम्म सर्वसम्मत गर्ने, नहुँदा पनि एकदमै स्वच्छ हिसाबले, हार्दिकताका हिसाबले एउटा विधिमा जाने र चुनाव सकिएपछि त्यसलाई सक्नुपर्छ जस्तो लाग्छ । कोही निर्वाचित हुने अथवा कोही पराजित हुने ठूलो त्यस्तो जित पराजयको कुराभन्दा पनि कमिटी निर्माण गर्ने एउटा विधि हो । अब पार्टी निर्माणका लागि सबै मिलेर लाग्नुपर्छ ।

Advertisement


चुनाव बेला कार्यकर्ताले केपीपछि हाम्रा बा पिएस हुन् भन्ने खालका नारा पनि लगाए । त्यस्तो प्रवृत्तिले कस्तो सन्देश जाला ?
त्यो कुनै नियोजित अथवा पूर्व मानसिकता बनाएर भएको कार्यक्रम होइन । निर्वाचन आयोगले जब परिणाम घोषणा गर्‍यो । म मञ्चमै थिए । मलाई साथीहरुले खादा लिएर घेरिहालेपछि त निस्कन मिलेन । स्वभाविक रुपमा राति अबेर भएको थियो । युवा पंक्ति थियो त्यसमा । मैले सिनियर नेतालाई कमै देखें त्यसमा । सिनियर नेता धेरै निस्किसक्नुभएको थियो । त्यसमा युवा जोस भन्नुपर्छ । पछिसम्म जोडेर लानु हुँदैन ।


तपाईंको प्यानलले त क्निस्विप नै गर्‍यो । एउटा पक्ष सर्लक्कै छुट्यो । अब कसरी सन्तुलित बनाउनुहुन्छ कमिटीलाई ?
पदाधिकारीमा हिजो रहनुभएको र अहिले पराजित हुनुभएका कमरेडको हकमा त उहाँहरुलाई प्रदेशमा अप्ठ्यारो होला । किनकि पदाधिकारी छोडाउन मिलेन । तल बस्ने कुरा उहाँको मनस्थिति के हुन्छ ? त्यहाँ उहाँहरुलाई अप्ठ्यारो होला । उहाँहरुको हकमा केन्द्रतिर वा अन्य निकायतिर कतै व्यवस्थापन गर्दा व्यवहारिक हुन्छ जस्तो लाग्छ । अरु सदस्य कमरेडको हकमा त अब जिल्लामा जान सक्ने कतिपय साथीलाई जिल्लामा अधिवेशन गर्दै छौं । त्यहाँ पनि व्यवस्थापन गर्छौं ।

Advertisement

मलाई लाग्छ यो कार्यकालमा पार्टी कार्यालय बनाउँछौं । आफ्नै भवनमा पार्टी कार्यालय सार्छौं ।


अरु जो सिनियर साथीहरु हुनुहुन्छ । जो प्रदेशमा हुनुहुन्थ्यो, अहिले हुनुभएन, लडेर चुनावमा जित्न सक्नुभएन । उहाँहरुको हकमा हामीसँग सल्लाहकार पनि हुन्छ, विभागहरु पनि बनाउछौं । उहाँहरुको क्षमता, रुचि हेरेर यी संरचनामा आवद्ध गराएर जान पनि सकिन्छ । कमिटीमा पनि हामी १ सय ६५ को बनाउन सक्यौं । तर, १ सय ५५ को बनायौं । त्यसको पछाडि पनि हामीले जिल्ला अधिवेशन गर्नुपर्ने छ । यो निर्वाचित कमिटी भनेको जति पनि थप्न पाइदैन । साथीहरु बाहिर नपरुन् भन्ने मनसायले नै त्यो ठाउँ खाली राखिएको हो ।


तपाईंका प्रत्यासी मायानाथ अधिकारीले केन्द्रीय सदस्य गुमाउनुभयो । उहाँसहितका पराजित नेताहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
उहाँहरुको हकमा केन्द्रीय जिम्मेवारी पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । केन्द्रले केही सोच्ला ।


गण्डकी प्रदेशमा एमालेले साढे ३ महिना सरकारको नेतृत्व गर्‍यो । अहिले संसदीय दलको नेता नै अल्पमतमा हुनुहुन्छ भन्ने देखियो । यसलाई कसरी हेर्नुभएको छ ?
हामीले मतै विभाजित नगरिकन अल्पमत भन्ने अवस्था रहेन । अबले संसदीय दलको नेता सर्वसम्मत नै छानेका हौं । बिचमा उहाँहरु कार्यशैलीको कारणले प्रदेश सभा सदस्यहरुको बिचमा दूरी बढेको छ । भावना अलिकति मिलेको छैन भने उहाँले त्यो कुरालाई रिअलाइज गर्नुपर्छ । र प्रदेश सभा सदस्य कमरेडहरु पनि त्यसमा चित्त नबुझेका कुराहरु छन् भने दलहरुको बैठकमा राखेर त्यसलाई क्लियर गर्ने र आफू पनि क्लियर बन्ने तिर लाग्नुपर्छ । अब त्यही कारणले गर्दा बाहिर प्रदेश सभाको भूमिकामा तलमाथि गर्ने अथवा दलभित्रको निर्णयमा ठाउँमा पुग्दैनौं अथवा त्यस्तो खालको समस्या छैन जस्तो लाग्छ मलाई ।


एमाले गण्डकीको आफ्नौ कार्यालय बनाउने योजना थियो । यो योजनालाई कसरी साकार पार्नुहुन्छ ?
भवन निर्माणको सन्र्दभ त चलाएकै छौं । भवन निर्माण समिति बनेको छ । बैंक खाता खोल्नेदेखि लिएर साथीहरुसँग कुराकानी चलाइएको छ । तर, हामीसँग ठ्याक्कै यति रकम छ भन्ने छैन । तर, हाम्रो प्रतिवद्धताचाहिँ घर पनि खोज्दै गरिराखेका छौं ।

जग्गा पाउँदा पनि जग्गामा भवन बनाउनुपर्छ भन्नेमा छौं । यो कार्यकालमा कम्तीमा गण्डकी प्रदेशमा यतिको हैसियत भएको पार्टीले सधैभरि पार्टी कार्यालय भाडामा चलाउने कुरा पनि धेरै सजिलो छैन । दुःख सुख गरेर आफ्नो कार्यालय बनाउनुपर्छ भन्नेमा छौं । मलाई लाग्छ यो कार्यकालमा पार्टी कार्यालय बनाउँछौं । आफ्नै भवनमा पार्टी कार्यालय सार्छौं ।


मिसन ८४ भन्दै हिँड्नुभएको छ । यसअघि मिसन ग्रासरुटले जनताको मन छुन सकेन कि ? मिसन ८४ मा कसरी विश्वास कसरी गर्ने ?
यो हाम्रो पार्टीको मात्रै विषयभन्दा पनि मिसन ८४ भनेको चुनाव हुने वर्ष हो भन्ने विषय हो । हामीले पनि मिसन ८४ लाई सफल पार्नका निम्ति पार्टीले योजना बनाउने कुरा स्वभाविक रह्यो । ८४ भन्नुको पछाडि अब अहिले नेकपा एमाले जुन पोजिसनमा छ । दुनियालाई थाहा भएको कुरा के हो भने अन्यत्र अन्यत्र सत्ताको विरुद्ध विपक्षी वा कमजोरहरु मोर्चा बनाउछन् । हाम्रो देशमा प्रतिपक्षका विरुद्ध सत्तामा बसेर मोर्चा छ । हामीले थोरै भोट बनाउदाखेरि देशले बहुमत पाउँछ । तर, अरु गठबन्धन दलहरुले बहुमत ल्याउन हामीले भन्दा बढी सिट जित्नुपर्छ ।


त्यसैले देशलाई स्थिरता दिन नसक्दा, देशमा राजनीतिक स्थिरता नहुँदा आर्थिक विकासलाई कति असर गर्दाे रहेछ भन्ने चिज हामीले राम्रै तरिकाले व्यहोरेका छौं । अब नेपाललाई एउटा सत्तापक्ष र एउटा प्रतिपक्ष भए पुग्छ । त्यसो भएको हुनाले आगामी निर्वाचनमा हामीले बहुमत ल्याएर कार्यक्रम लागु गर्नुपर्छ र यसमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको कामलाई प्रभावकारी बनाउनुपर्छ हो ।


आमनिर्वाचन र स्थानीय निर्वाचनमा उम्मेदवारलाई टिकट दिने निर्णय गर्ने जिम्मेवारी पनि प्रदेश कमिटीलाई हुन्छ । अहिले हारेकाहरुको समूहकालाई अब टिकट नपाइने भयो भयको छाँया व्यवहारमा देखिने त होइन ?
त्यसको जिरो पनि सम्भावना छैन किनभने पार्टी बनाउने भनेको सबै मिलेरै हो । आज कसैले टिकट पायो होला । अघिल्लो कार्यकाल म सविधान सभा सदस्य थिए । त्यसपछि दुई कार्यकाल दाबी नै गरिनँ । अहिले स्थानीय तहमा भएका साथीहरुले भोलि पाउनुहुन्छ भन्ने पनि छैन । अथवा एकदम राम्रो काम गर्नुभयो भने दोहोरिन पनि सक्नु होला । अनि अहिले कमिटी निर्माण गर्ने क्रममा एउटा विधि प्रयोग गरियो । एउटा कमिटी बन्यो । यसको लिगेसीपछि सम्म बोक्ने र गुट बनाउने कुरामा हामी कत्तिपनि सोचमा छैनौं ।


काम गर्ने भूमिका खेल्ने साथीहरुलाई टिकट दिने हो । त्यस्तो गरिएन भने भोलि गएर रिजल्टमा असर गर्छ नि । आम रुपमा कार्यकर्ताले रुचाएको मान्छेलाई नदिने हो भने राम्रो काम गरेकालाई मूल्यांकन नगर्ने हो त्यसले त रिजल्टमा हान्छ । मिसन ८४ पनि भन्ने बहुमत पुग्नुपर्छ पनि भन्ने अनि कार्यकर्ताको यथार्थ मूल्यांकन नगरी बायसनेस देखायौं भने त भोलि रिजल्टमा मिल्दैन ।


एमालेको सदस्यता नवीकरण घटेको छ । एमालेका नेता कार्यकर्ताले नयाँ पार्टी रोजेका हुन् त ?
हाम्रो पार्टीका सदस्य घट्नुका पछाडि दुई, तीन वटा कारण थिए । पहिलो कुरा नेकपा निर्माणपछि यो सदस्यताको अपडेट गर्न पाइएको थिएन । दुई पार्टीको एकीकृत पार्ने संस्था नबन्दै पार्टीहरु आफ्नो स्थितिमा लाग्नुपर्ने अवस्था आयो । त्यो बिचको सदस्यता व्यवस्थित हुन पाएको थिए । त्यसले गर्दा त्यो संख्या व्यवस्थित गर्दा घटेको हो ।

दोस्रो कुरा विदेशमा गएको संख्या, बिचमा निधन भएकाहरु, बसाईसराई गरेर घटेको संख्या हामीले अपडेट नसकेर पनि सदस्यता संख्या अहिले घटेको देखिएको हो । कहिकहि यो त ठिक छ भनेर बनाएको अवस्था पनि थियो । ती कुरा हामीले हटाएर प्रत्येक पार्टी सदस्यकै नवीकरण गर्ने गरी खास पार्टी सदस्यता निकाल्दा खोज्दा घटेको हो । छोडेको अथवा अर्काे पार्टी रोजेकोचाहिँ होइन ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया