राष्ट्रसंघ महासचिवको पोखरा भ्रमण

समाधान संवाददाता २०८० कार्तिक १३ गते १२:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस अहिले नेपालको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा कार्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि आएका महासचिव आज पोखरा आइपुग्दै छन् । लामो समयपछि भएको अति विशिष्टको पोखरा भ्रमणबाट यो क्षेत्रका बासिन्दाले ठूलो अपेक्षा गरेका छन् । पोखरा भ्रमणमा आउने महासचिव गुटेर्रेस अन्नपूर्ण बेस क्याम्पसमेत जाँदै छन् ।

Advertisement

त्यहाँ पुगेपछि स्थानीयसँग जनवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे कुरा गर्ने तालिका तय छ । नेपालमा गण्डकी क्षेत्र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको देखिन्छ । दशकअघि बैशाखमा आएको सेती बाढीले ठूलो क्षति गरेको थियो । त्यो क्षेत्रमा पुनर्निर्माण अझै अधुरो छ । यसैपालि मुस्ताङको कागबेनीमा आएको बाढीले बजार नै तहसनहस पारिदियो । हम्मेसि वर्षा नहुने मुस्ताङमा बस्ती नै बगाउने गरी बाढी आउने कल्पना गरिएको थिएन ।


त्यतिमात्र होइन, अचेल मुस्ताङ, मनाङसहित नेपालको हिमाली क्षेत्रमा हिउँ कम देखिन थालेको छ । बेमौसममा हिउँ पर्ने, मौसममा हिउँ नपर्ने, तापक्रम बढ्ने जानेदेखि हिमतालहरु पग्लिने जोखिम पनि छँदै छ । महाभूकम्प, महामारी जस्ता विपत्तिमा तग्रिन नपाउँदै यस्ता विपद् आइलागे अझ नेपाली जनजीवन थला पर्ने निश्चित छ । यसबाट मुक्तिका लागि प्रधानमन्त्री दाहालले राष्ट्रसंघमा जनवायु परिवर्तनका असर रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए ।

दाहालको निमन्त्रणमा नेपाल आएका महासचिव सोलुखुम्बुसमेत जाँदै छन् । आइतबार राजधानीमा भएको कार्यक्रममा समेत जलवायु परिवर्तनका असर रोक्न र नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्र संघको सहयोग रहने उनले दोहोर्‍याए । विश्वका विभिन्न देशबीच आपसी मतभेदसँगै युद्ध भइरहेका बेला महासचिव गुटेर्रेसको नेपालको भ्रमणलाई महत्व दिएर आउनुलाई महत्वपूर्ण नै मान्नुपर्छ । संयुक्त राष्ट्रसंघका महासचिवस्तरकै नेपाल भ्रमण कमै हुने गर्दछ ।


यस खाले भ्रमणमा राष्ट्रसंघमा नेपालको भूमिका र नेपालले राष्ट्रसंघसँग राख्ने अपेक्षाको विषयमा सार्थक छलफल हुन सक्यो भने त्यसले नेपालको हैसियत र प्रतिष्ठा थप उँचो बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघको स्थापना विश्व शान्तिका लागि भएको थियो । दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वयुद्ध वा अन्य कुनै पनि सम्भावित अन्तर्राष्ट्रिय युद्धको सम्भावना रोक्नका लागि २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो । राष्ट्र संघमा नेपालले प्रभावकारी भूमिका निर्वाह गर्ने र शान्ति र समृद्धिको अबको यात्रामा विश्वको साथ, समर्थन जुटाउने अवसरको रुपमा यसलाई उपयोग गर्नुपर्छ । महासचिवको पोखरा भ्रमणले यसको प्रवद्र्धन र विकासमा समेत महत्वपूर्ण योगदान गर्ने पक्का छ ।

Advertisement

तपाईको प्रतिक्रिया