पोखरामा विश्व शान्ति पूजाको तयारी

समाधान संवाददाता २०८० कार्तिक १४ गते १२:३५

पोखरा ।
पोखरामा मंसिरको पहिलो साता विश्व शान्ति पूजा हुने भएको छ । पोखरामा धार्मिक पर्यटक भिœयाउने उद्देश्यले पूजा गर्न लागिएको हो । खहरे लेकसाइडस्थित पेमा धेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने भएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

Advertisement


बैदाम तामाङ सेवा समाजले आयोजना गर्न लागेको कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रतिष्ठा) २०८० नाम दिइएको छ । ९ गतेसम्म हुने पूजामा धर्मगुरु ङिमा साङ्पो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छन् । मंसिर २ गते पूजा उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।


विश्व शान्ति पूजामा प्रज्ञा पारमिता र त्रिपिटक काग्युर पाठवाचन हुने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । देश तथा विदेशका १ सय ८ लामा गुरुबाट लगातार ८ औं दिनसम्म पूजा चल्नेछ । पूजामा संलग्न भई पाठवाचन गर्दा मानव जाति र पृथ्वीको सबै प्राणीको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रीय अध्यक्ष पाल्देन लामाले बताए ।

Advertisement


मंसिर २ गते शान्तिको दीप प्रज्वलन (कुराप्ने) बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा ८ दिने बुद्धवाचन त्रिपिटक (काग्युर पाठ) महायज्ञ विश्व शान्ति पूजा हुनेछ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासांग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ । मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ वाङ आशीर्वाद प्रदान हुने आयोजकले जनाएको छ ।


बुद्धवाचन, आर्य तारा (डोल्मा), तनागोसुम पूजा, गण चत्र (रिव साङ) पूजा, लामा छ्याम (लामा नृत्य), राप्ने (प्राण प्रतिष्ठा), वाङ (अभिषेक) लगायत कार्यक्रमको आयोजना गरिएको छ । २०७२ मंसिर २० गते स्थापना भएको पेमा धेछेनलिङ गुम्बा करिब ५ रोपनीमा फैलिएको छ । गुम्बामा राखिएको भगवान् गौतम बुद्धको मूर्ति बेसबाट २८ फिट अग्लो छ । विभिन्न पवित्र स्थलबाट सामग्री संकलन गरी ८ करोड ८ लाख ८ हजार ८ सय ८ बुद्ध मन्त्रको साथमा बुद्धको प्रतिमा तयार गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया