परम्परागत घाटसँगै विद्युतीय शवदाह गृह

पोखरा ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमै शवदाह गृह बनाएको हो । रामघाट र सँगै रहेको शक्तिघाटमा हिन्दु र बौद्ध धर्मावलम्बीका अन्तिम संस्कार स्थल छन् ।
गएको भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृहको शुक्रबार परीक्षणसमेत भइसकेको छ । शुक्रबार दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको हो । एक महिना जति परीक्षणका रुपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर सुरज पौडेलले शव दहनमा खटिने जनशक्तिलाई तालिम दिनुपर्ने जनाउँदै चाडै हस्तान्तरण गरिने बताए । ‘शवदाह गृह बनेको जग्गा महानगरको हो । निर्माण सकिएको छ । परीक्षण सकिनेबित्तिकै हस्तान्तरण गर्छाैं,’ पौडेलले भने ।
रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । शान्तिघाटमा बिजुली र दाउरा दुवै प्रयोग हुने शवदाह गृह पोखरा महानगरपालिकाले बनाएको थियो । निजी बैंकसँगको सहकार्यमा निर्मित त्यो शवदाह गृहमा दाहसंस्कार गर्दा परम्परागत तरिकाभन्दा थोरै दाउरा प्रयोग हुन्थ्यो । अहिले त्यो शवदाह गृहसमेत बन्द छ ।
लास जलाउनुअघिका संस्कारसमेत गर्न मिल्ने गरी घाटनजिकै सवा १४ करोडमा विद्युतीय शवदाह गृह बनेको हो
महानगर प्रमुख धनराज आचार्यले युगको आवश्यकता अनुरुप विद्युतीय शवदाह गृह बनेको उल्लेख गरे । महानगरलाई हस्तान्तरण भइसकेपछि जनशक्ति व्यवस्थापनसहित उचित तवरले यसको सञ्चालन गरिने प्रतिवद्धता उनले जनाए ।
रामघाटमा शव दाहनलाई व्यवस्थित गर्ने उद्देश्यले १४ करोड १३ लाख ५० हजार तीन सय ६७ रुपैयाँ लागतमा आधुनिक शवदाह गृह निर्माण भएको हो । भवनभित्र शव दहन गर्ने ३ मेसिन राख्ने स्थान ठाउँ भए पनि अहिले दुई मेसिन राखिएका छन् । शवदाह गृह १० रोपनीमा फैलिएको छ ।
शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । फराकिलो भवनको परिसरभित्रै हिन्दू धर्मावलम्बीहरुका लागि मन्दिर र बौद्ध धर्मावलम्बीहरुका लागि गुम्बा निर्माण गरिएको छ । निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका प्रोजेक्ट म्यानेजर ईन्द्र खनालले कम्तीमा ४५ मिनेटदेखि बढीमा १ घन्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्ने जानकारी दिए ।
शव दहनबाट उत्पादन हुने ताप र धूँवा भवनपछि प्रशोधन गरी ३० मिटर अग्लो चिम्नीमार्फत् बाहिर पठाउने व्यवस्था छ । शव दहन गर्दा शवदाह गृह र आसपासमा समेत गन्ध नआउने र धूँवासमेत नदेखिने निर्माण कम्पनीको दाबी छ ।
पहिला आउने १० वटा शवमा लाग्ने खर्च हिसाब गरी दहनको मूल्यबारे सुझाव दिने निर्माण कम्पनीको तयारी छ । शवदाह गृह सञ्चालनका लागि एक सिफ्टमा च४ जना आवश्यक पर्छ । भारतमा बनेका शवदहन गर्ने मेसिनको १ वर्ष वारेन्टी छ । उचित तवरले सञ्चालन गरे सात÷आठ वर्ष यी मेसिनले राम्ररी काम गर्ने प्रोजेक्ट म्यानेजर खनालले बताए ।
०७३ मा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीका कारण कामअघि बढ्न सकेको थिएन । सर्वाेच्चले निर्माण नरोक्न आदेश दिएपछि ०७८ असोजबाट काम सुरु भएको थियो । दुई वर्षम काम सक्नुपर्ने सम्झौता भए पनि कानुनी झमेला र स्थानीयको अवरोधले सात वर्षमा निर्माण सकिएको हो ।
पोखराको सेती नदीका विभिन्न घाटमा दाहसंस्कार हुँदै आएको छ । तर परम्परात शैलीबाट दाउराले शव जलाउने घाटहरु पनि व्यवस्थित छैनन् । परम्परागत रुपमा एक जनाको दाहसंस्कार गर्दा ३ सय केजीभन्दा बढी दाउरा लाग्छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया