घोडेपानी–पुनहिलमा १४ हजार पर्यटक

म्याग्दी ।
विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा १४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
विसं २०८० को वैशाख १ देखि कात्तिक १३ गतेसम्म १४ हजार ४ सय २१ पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीका प्रहरी हवल्दार रामबहादुर केसीले घोडेपानी–पुनहिल क्षेत्रमा कोरोना महामारी सुरु हुनुअघिकै हाराहारीमा पर्यटक आउन थालेको जनाए ।
‘घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख र तथ्यांक राख्ने गरेका छौँ’, उनले भने, ‘वैशाखदेखि यता ११ हजार २ सय ३१ पर्यटक भित्रिएका र ३ हजार १ सय ९० पर्यटक घोडेपानी हुँदै अन्यत्र गएका छन् ।’
वैशाखमा ४ हजार ४ सय १४, जेठमा १ हजार २ सय ८३, असारमा ४ सय ५०, साउनमा ९ सय २९, भदौमा ९ सय ७२, असोजमा ४ हजार २ सय ९८ र कात्तिकको १३ गतेसम्म २ हजार ७५ पर्यटक आएको चौकीले जनाएको छ ।
घोडेपानीका होटल व्यवसायी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले विदेशीसँगै स्वदेशी पर्यटकको पनि चहलपहल बढेको सुनाए । ‘अनुकूल मौसम र चाडपर्वको बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ’, उनले भने, ‘कोरोना महामारीपछि पर्यटक आगमन पुरानै लयमा फर्कन थालेको छ ।’
विसं २०७९ मा २६ हजार ३ सय ११ पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको तथ्यांक पर्यटक प्रहरी चौकीको छ । समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।
घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइला दाइ होटल तथा रेष्टुरेन्टसँग ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले ५० र विदेशीले १ सय ५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ ।
अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी ४ वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया