प्लास्टिकका सामग्री हटाउन टपरी उद्योग

समाधान संवाददाता २०८० कार्तिक १७ गते १२:२४

गोरखा ।
ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका ७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

Advertisement


बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताए । पालिकाभित्र अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।


‘पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थाल्यो’, उनले भने, ‘प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।’

Advertisement


प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पु¥याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जंगलमा खेर गइरहेका पातबाट गाउँमै दुना, टपरीलगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाइ छ ।


‘हाम्रा सामुदायिक वनमा खेर गइरहेका सालका पात अहिलेसम्म हामीलाई पैसा पर्दैन,’ उनले भने, ‘बिरुवाको संरक्षण गरेर पात सहजै ल्याउन सकिन्छ, त्यसबाट टपरी र बोता उत्पादन गर्यौँ भने दिदीबहिनीको खेर गइरहेको समय पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न पनि पर्दैन ।’

Advertisement


उद्योगबाट स्थानीय महिलाको आयआर्जन वृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिइन् । ‘रु दुई लाखमा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको होे”, उनले भने, ‘फुर्सदको समयमा समूहका सदस्यले जंगलबाट पात सङ्कलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौँ ।’

महिला समूहमा १४ महिला आबद्ध छन् । उद्योगबाट अहिले टपरी बोता (दुना)लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रतिगोटा ७ र बोता प्रतिगोटा ५ मा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिइन् । उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको भनाइ छ ।


‘अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ’, भनिन् । उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उनले बताइन् । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र माग भएपछि बजारमा पठाउने गरिएको छ ।


‘महिला समूहका दिदीबहिनी वनमा गएर सालको पात टिपेर ल्याउनुहुन्छ, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समूह र सिकाइ केन्द्रले लिने गरेको छ’, उनले भनिन् । चाडपर्व, विवाह, व्रतबन्ध, भोजभतेरलगायत सामूहिक कार्यक्रम गर्दा स्थानीय स्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ ।


स्थानीवासी सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गरिन् । पर्याप्त प्रचार–प्रसार गर्न सके यसको माग अझै बढ्न सक्ने छ । जुनसुकै ठाउँबाट माग आए पनि सामान उत्पादन गरी पु¥याउन सकिने उद्योगले जनाएको छ ।

तपाईको प्रतिक्रिया