अन्तर्राष्ट्रिय वाइक रेसमा ११ देशका साइक्लिस्ट

पोखरा ।
पोखरामा आगामी मंसिर दोस्रो साता प्रथम पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साइक्लिङ संघको सहयोग र व्यवस्थापनमा मंसिर ७ देखि ९ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता पोखरा १३ स्थित आर्वाविजयको डाँडामा हुनेछ । झण्डै १४ सय मिटर उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनीलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
आर्वामा आयोजना हुने पोखरा एन्डुरो माउन्टेन बाइक प्रतियोगिता पहिलो हो । यसअघि डाउन हिल, रोड रेस, पोखरा आईभी लगायतका साइक्लिङ प्रतियोगिता हुँदै आएका छन् । जुनसुकै ट्रेलमा साइक्लिङ प्रतिस्पर्धा गरे पनि बाटोको पहुँच पुगेको ठाँउमा मात्रै एन्डुरो प्रतिस्पर्धा हुन्छ । डाउन हिल प्रतिस्पर्धामा बाटोको पहुँच नभए पनि प्रतियोगिता सञ्चालन गर्न सकिने प्राविधिकहरु बताउँछन् ।
‘एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एकमात्रै स्थल हो,’ कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने, ‘एन्डुरो आफैंमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो ।’ प्रतिस्पर्धाका लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ । ६ ट्रेल १.८ किलोमिटरदेखि २ किलोमिटर लामा छन् । ट्रेलमा साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टाइनेछ ।
प्रतियोगितामा नेपालसहित विभिन्न ११ देशका साइक्लिस्टले सहभागिता जनाउने छन् । भारत, सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स, न्युजिल्यान्ड लगायतका देशका देशबाट प्रतियोगी सहभागी हुने छन् ।
प्रतियोगितामा इलिट पुरुषतर्फको जुनियर (१२–१८वर्ष), मास्टर्स क (३०–३९ वर्ष) मास्टर्स ख(४०–४९ वर्ष), भेट्रानतर्फ (५० वर्षमाथि), महिला ओपन र ई–बाईक गरी ७ इभेन्ट रहनेछन् । आयोजक डन टिल डस्कले एन्डुरो पूर्वाधार बनाउनमात्रै ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाएको छ । प्रतियोगितालाई पोखरा महानगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले यो वर्ष थोरै बजेट छुट्टाएको जनाउँदै आगामी वर्षदेखि महानगरको रातो किताबमै राखेर बजेट विनियोजन गर्ने वाचा गरे ।
तपाईको प्रतिक्रिया