पूर्वेलीको प्रश्नः पोखरा घुम्नेलाई प्याकेज के छ ?

समाधान संवाददाता २०८० कार्तिक २२ गते ११:२७

पोखरा ।
जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रवद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका बासिन्दाले यस पटक पोखरा घुम्नेलाई प्याकेज के छ भनी जिज्ञासा राखेका छन् ।

Advertisement


अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिकसम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने बजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए । जवाफमा संघ अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त वेब पोर्टल र प्रसिद्ध पत्रिकाले लेख्दै आएको स्मरण गराए ।


विश्व प्रसिद्ध फोब्र्स पत्रिका र अन्तर्राष्ट्रिय वेब पोर्टल प्राइस अफ ट्राभल डट कमले पोखरालाई संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विगतमा उल्लेख गरेका थिए । अध्यक्ष सुवेदीले कोभिडका कारण पर्यटन क्षेत्र थला परेको र यसलाई विस्तारै लयमा फर्काउन विगतमा पर्यटकीय सेवा, सुविधामा भारी छुट प्रदान गरिएको र अहिले पनि विभिन्न होटल, रेस्टुराँ, ट्राभल एजेन्सी र साहसिक पर्यटकीय गतिविधि संचालकहरुले कोभिड अघिको तुलनामा ५० प्रतिशतसम्म कम दरमा आफ्ना सेवाहरु बेचिरहेको सुनाए ।

Advertisement


पोखरा महानगरपालिकाको प्रबद्र्धनमा यस पटक सञ्चालित कार्यक्रम अन्तर्गत बर्दिवास, जनकपुरधाम, इटहरी, विराटनगर, विर्तामोड, धनकुटा र चितवनमा संघले जाउँ है पोखरा अभियान सञ्चालन गरेको हो । पूर्व र पोखराबिच पर्यटक तथा व्यवसायको आदानप्रदान र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

पूर्वका व्यवसायी र पोखरेली पोखराबाट भद्रपुर र विराटनगर जस्ता सहरसम्म सिधा हवाई उडान नियमित गर्न एकमत

Advertisement


होटल तथा पर्यटन व्यवसायी संघ बर्दिवासका अध्यक्ष गोपाल कार्कीले पोखराका व्यवसायीले अघि सारेको पर्यटकीय साझेदारीको अवधारणा सकारात्मक रहेको बताए । पोखरामा पर्यटकको खर्च गर्ने क्षमता अनुसार १ हजार रुपैयाँदेखि दशौं हजार मूल्य पर्ने कोठा उपलब्ध भएको भन्दै संघले पोखरा घुम्नका लागि पूर्वका बासिन्दालाई निम्ता दिएको छ ।


अभियानका क्रममा पूर्वका व्यवसायी र पोखरेली व्यवसाय विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म सञ्चालित सिधा हवाई उडानलाई पुनः नियमितता प्रदान गर्न पनि एकमत भएका छन् । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले सेवालाई दिगो बनाउने गरी अब तयारीका साथ हवाई सेवालाई पुनः नियमित गरी स्तरीय पर्यटक बस सेवा समेत पोखरा जोड्ने गरी सञ्चालन गरिनुपर्ने सुझाव राखे ।


यसका लागि आफूहरु तयार रहेको पूर्वका व्यवसायी भविशकुमार श्रेष्ठले प्रतिक्रिया जनाए । भ्रमण टोलीमा रहेका पोखरा पर्यटन पषिद्का अध्यक्ष पोमनारायण श्रेष्ठले स्थगित भएका पूर्व र पोखरा जोड्ने हवाई सेवा पुनः संचालन गर्न पहल भइरहेको बताउँदै ४ लेनमा विस्तार हुँदै गरेको मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्रसुरु भइसकेको जानकारी गराए ।


‘पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुन्छ,’ उनले भने । यसैगरी पूर्वका विभिन्न सहरबाट पोखरासम्म स्तरीय बस सेवा सञ्चालन गर्नसमेत आपसी सहकार्यका लागि समेत दुबै क्षेत्रका व्यवसायी एकमत देखिएका छन् । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले विदेशीले भन्दा नेपाली पर्यटकका खर्च गर्ने बानी बढी हुन पर्यटनका लागि सकारात्मक पक्ष भएको बताए । होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटन क्षेत्रप्रति सरकार सकारात्मक हुनुपर्ने बताए ।


होटल संघ नेपाल मधेस प्रदेशका अध्यक्ष राकेश झुनझुनवालाले जनकपुरको जानकी मन्दिर प्रचारमा नेपाल पर्यटन बोर्डले जोड दिनुपर्ने विचार राखे । पोखराको होटल क्षेत्रमा ५ खर्ब हाराहारी लगानी रहेको र यस क्षेत्रका १ हजार २ सय होटलमा ४० हजार विस्तारा रहेको बताइन्छ । यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको आयोजक संघका अध्यक्ष सुवेदीले तथ्यांक सुनाए ।


दिगो पर्यटनका लागि आन्तरिक पर्यटन नै प्रमुख आधार भएको बताउँदै सुवेदीले नेपालीमा पनि घुम्ने संस्कृतिको विकास भएको र अहिले पोखरा घुम्न पुग्ने कुल पर्यटकमा आन्तरिक पर्यटकको दर ३५ प्रतिशत पुगेको सुनाए । ‘यस्तो हुनुमा जाऊँ है पोखरा अभियानको प्रमुख देन छ,’ उनले भने । आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव जस्ता कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया