लामाचौर कपको प्रिक्वाटर फाइनल सकियो

समाधान संवाददाता २०८० कार्तिक २२ गते ११:३१

पोखरा ।
एलसी ब्रदर्स युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ गोस्तेघाट फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलका खेल सकिएका छन् ।

Advertisement


प्रतियोगिताबाट मंगलबार अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको छ । पहिलो खेलमा एलजी एसोसिएसनले हेमजा युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । एलजीका लागि खेलको २१ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको अन्तिम मिनेटमा आशीष गुरुङले १ गोल गरेका थिए ।
दोस्रो खेलमा ढिकुरपोखरी युवा समाजले रञ्जन मेमोरियल लामाचौरलाई १–० गोलले हराउँदै क्वाटर फाइनलको यात्रा तय गर्‍यो । ढिकुरपोखरीका लागि खेलको सुरुवाती ३ मिनेट.मै आयुष गुरुङले गरेको गोल नै जितका लागी निर्णायक रह्यो ।


यस अघिका प्रि–क्वाटरफाइनल खेलबाट नेपाल प्रहरी गण्डकी प्रदेश, बाँनिया ब्रदर्स लामाचौर, शितल ज्याति युवा क्लब र आदर्श युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । गण्डकी स्पोट्र्स क्लब र एन टु कफी सपले वाइमार्फत सिधै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।


बुधबारदेखि क्वाटर फाइनलका खेल सञ्चालन हुने छन् । बुधबार हुने क्वाटर फाइनलको पहिलो खेल नेपाल प्रहरी गण्डकी प्रदेश र शितल ज्याति युवा क्लब हुनेछ भने दोस्रो खेल बाँनिया ब्रदर्स लामाचौर र आदर्श युवा क्लब भण्डारढिक, सैनिक बस्तीबिच हुनेछ ।


प्रतियोगितामा १४ टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता कार्तिक २५ गतेसम्म सञ्चालन हुने खेल संयोजक विशाल नेपालीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया