पर्यटक तान्दै नौमती बाजा पार्क

समाधान संवाददाता २०८० कार्तिक २३ गते ११:४३

गण्डकी ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
समुन्द्री सतहबाट १ हजार ५ सय ५० मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । बाजापार्क पहिलो पटक देखेको र बाजा समेत बजाउन पाउँदा छुट्टै आनन्द आएको पार्कमा पुगेका बगलुङ जिल्लाको काठेखोला वडा नं. ७ वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

Advertisement


गण्डकी प्रदेशस्थित सामुदायिक वन उपभोक्ता महासंघद्धारा आयोजित दुई दिने कानुनी क्षमता अभिवृद्धि तालिममा सहभागी हुन सो क्षेत्रमा पुगेका लामिछानेले भने, ‘स्थानीय सरकारका विभिन्न शिर्षकमा जाने बजेटबाट यस्ता मौलिक एवम् पर्यटकीय स्थल निर्माणमा जोड दिनु आवश्यक छ ।’


अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमश्रृखला एवं प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिने सो क्षेत्रसहित नौमती बाजा पार्कको प्रचार प्रसारमा जोड दिनुपर्ने उनको सुझाव छ । पार्कमा सुमधुर तथा शुभ सन्देश दिने नर्सिंगा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलक जस्ता बाजा प्रदर्शनमा राखिएकोे छ ।

Advertisement


यस क्षेत्रमा आएर बास वस्ने पर्यटकले पार्कमा रहेको बाजा बजाएर रमाउने गरेको स्थानीय नन्दलाल अधिकारीले जानकारी दिए । अस्तामस्थित मिस्टिक हाइल्यान्ड रिसोर्टका सञ्चालकसमेत रहेका उनका अनुसार नौ वाद्यवादक कलाकारले सुर र तालका साथै एकैचोटी बजाउने गरिएकाले यो सामूहिक बाजालाई नौमती बाजा भनिएको हो । विशेषगरी आलुमिनियम, तामा, पित्तल लगायत धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ ।


नेपालीको मौलिक पहिचान बनेको नौमती बाजाका लागि पोखरा र आसपासमा ख्याति कमाएको अस्तामको बाजा चिरस्थायी राख्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिता परिचालन एवं माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा १६ लाख लागतमा निर्माण गरिएको पार्क ४ वर्ष अघिदेखि सञ्चालनमा आएको हो ।

Advertisement


पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डबाट करिब छ मिलोमिटरमा रहेको सो पार्कमा प्रवेशका लागि टिकट लाग्दैन । सो स्थानसम्म पुग्नका लागि संघीय सरकारको २५ करोड लगानीमा मोटर बाटो स्तरोन्नति गरिरहेको छ ।

तपाईको प्रतिक्रिया