मर्दी पदमार्गमा पर्यटक सूचना केन्द्र

कास्की ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मर्दी हिमालसहित माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली लगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । १ दशकअघिसम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ । यस पदमार्गमा आउने पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माण सुरु गरेको छ ।
देश विदेशबाट पदयात्रामा पाउने पर्यटकलाई व्यवस्थित गर्ने र उनीहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले केन्द्र निर्माण अघि बढाइएको हो । पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले ४५ प्रतिशत लगानी गरी ३० लाख लागतमा सूचना केन्द्र निर्माणको काम सुरु भएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताए ।
सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्यांक संकलनमा सहयोग पुग्नेछ । उपाध्यक्ष अधिकारीले भनिन्, ‘मर्दी ट्रेकिङ रुट अहिले पदयात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा परेको छ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि सूचना केन्द्र निर्माण सुरु गरेका छौँ ।’
गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधि बढेसँगै मर्दी पदयात्रामा बर्सेनि नयाँ होटल तथा रेष्टुरेन्ट थपिनेक्रमसमेत वद्धि भएको छ । सूचना केन्द्रबाट मर्दी ट्रेकिङ रुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जंगलको बाटो हुँदै उकालो चढेर २ हजार ९ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै ४ हजार ५ सय मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया