राष्ट्रपति रनिङ सिल्डमा सैनिक आवासीय मावि च्याम्पियन

पोखरा ।
सैनिक आवासीय मावि २१ पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ ।
३ दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ सिल्ड प्रदान गरे ।
कालिका मावि ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक पाएर उपविजेता बनेको छ । ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेर सहिद स्मृति मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । कालिका र सहिद स्मृति माविले ट्रफी प्राप्त गरे ।
टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल मावि प्रथम, कालिका मावि द्वितीय र न्यू ग्यालेक्सी स्कुल तृतीय भएको आयोजकले जनाएको छ । भलिबल छात्रामा जनप्रिय मावि प्रथम, शान्त मावि द्वितीय र कन्या मावि तृतीय भएका छन् । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
छात्र कबड्डीमा बेथानी बोर्डिङ प्रथम, कालिका मावि १० द्वितीय, अमरसिंह मावि र त्रिभुवन शान्ति मावि तृतीय भएका छन् । छात्रा कबड्डीमा रामेश्वरी मावि प्रथम, गौरीशंकर मावि द्वितीय, बेथानी मावि र कालिका मावि १० तृतीय बने । कबड्डीमा प्रथम, द्वितीय र तृतीयले क्रमश; १५ हजार, १० हजार र २५÷२५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
पोखराका १ सय १० विद्यालयका ३ हजार २ सय ५ विद्यार्थी ६६, स्वर्ण, ६६ रजत र १ सय ४ कास्य पदकका लागि प्रतिस्पर्धामा सहभागी थिए । भलिबल छात्र÷छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस् अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल प्रतियोगितामा भएका थिए ।
यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर १३ र १४ पुसमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाकोतर्फबाट सहभागी हुने सदस्य सचिव खड्काले जानकारी दिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष गुरुङले समय समयमा प्रतियोगिता गरेर महानगर खेलकुद विकास समितिले तल्लो तहमै खेलाडी उत्पादन गर्न भूमिका खेलेको जनाए ।
अहिले च्याम्पियन बनेको सैनिक आवासीय मावि गत वर्षको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक जितेर उपविजेता बनेको थियो । यस पटक तृतीय बनेको सहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर अघिल्लो वर्ष पनि तृतीय भएको थियो ।
तपाईको प्रतिक्रिया