राष्ट्रिय खेलकुद तयारीका लागि बजेट अभाव

समाधान संवाददाता २०८० पुष १३ गते ११:१८

पोखरा ।
आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद लगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीका लागि गण्डकी प्रदेशलाई सकस परेको छ ।

Advertisement


प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँग छलफल आयोजना गरी यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र बन्द प्रशिक्षणका लागि ५ करोड रुपैयाँ २४ लाख ८७ हजार रुपैयाँ बजेट आवश्यक पर्नेमा २ करोड रुपैयाँमात्र बजेट छुट्याइएपछि समस्या भएको हो ।


नपुग रहेको ३ करोड २४ लाग ८७ हजार व्यवस्था गर्न समस्या देखिएको उनले खुलाए । छलफलबाट कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रदेश खेलकुद विकास बोर्ड वागमती प्रदेशद्वारा फागुन २४ देखि ३० गतेसम्म १४ वटा खेलहरुको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको टिम सहभागीका लागि खेलाडी छनौट प्रतियोगिता, विशेष प्रशिक्षण तथा सहभागिताका लागि आवश्यक बजेट प्रयाप्त नभएकाले थप बजेट निकासाको लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गर्ने निर्णय भएको छ ।

Advertisement


प्रदेश खेलकुद परिषदका सल्लाहकार, विभिन्न राजनितिक दलका खेलकुद भातृ संघका अध्यक्षहरु, खेल संघका प्रतिनिधि, खेलसँग सम्बन्धित विभिन्न क्लब तथा संस्थाका प्रतिनिधि र सञ्चारकर्मी समेतको उपस्थितिमा भएको छलफलका सहभागीले प्रदेशतर्फ सर्वोत्कृष्ट भएर गण्डकीले बनाएको रेकर्डलाई कायम गर्दै त्यो भन्दा सुधारिएको प्रदर्शन गर्नेतर्फ सोच्नुपर्ने बताए ।


प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मिति पनि हेरफेर भएको छ । यसअगाडि यहीं पौष २६ देखि २८ गतेसम्म आयोजना गर्नेगरी मिति तय भएको थियो । मनाङ, मुस्ताङ, नवलपुर, गोरखा, तनहुँ, स्याङजा र कास्की जिल्लामा मात्र पूर्व निर्धारित पुस १५ गतेभित्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुन देखिएको छ । बाँकी जिल्लामा यो मिति पछि मात्र जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुने भएको देखिएकाले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फागुन १६ देखि १८ गतेस्म्मको मितिलाई मध्यनजर गरेर फागुन १२ गते भित्र उक्त प्रतियोगिता हुने व्यवस्था मिलाउने निर्णय भएको छ ।

Advertisement


पोखरा रंगशालाको व्यवस्थापनआम्दानी, खर्च, मर्मतसम्भार र सुरक्षाका लागि प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा सहजीकरण तथा व्यवस्थापन समिति गठन भएको छ । सो कार्यको लागि कार्यविधि–मापदण्ड निर्माण भई लागू नहुँदासम्म उक्त समितिबाट भएको निर्णय बमोजिम रंगशालाको आम्दानी र खर्चलाई कार्यान्वयन गरिने भएको छ ।


राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले प्रदेश खेलकुद परिषदले गर्ने गतिविधिमा आफ्नो साथ सर्मथन रहने बताए । यहाँ रहेका पूर्वाधारका बारेमा जानकारी संकलन गर्न आफ्नो संयोजकत्वमा समिति बनेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भएकाले काम थालनी गरिसकेको उनले खुलाए ।


पछिल्लो समयमा खेल संघ नवीकरण हुने क्रम समेत घटेको पाइएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । कास्की जिल्लामा १ सय १७ खेलकुद संघ रहेकोमा अहिले २७ ले मात्र नवीकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया