माछापुच्छ्रे अध्यक्ष कप भलिबलको उपाधि बौदीकालीलाई

समाधान संवाददाता २०८० पुष २९ गते १६:३६

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ ।

Advertisement


माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधि जितेको बौदीकालीले नगद ३ लाख, ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले २ लाख तथा ट्रफीमा चित्त बुझायो ।

बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो भने यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल पुगेको हो ।


सेमिफाइलन पुगेका अन्नपूर्ण र चापाकोटले ५० हजारका दरले पुरस्कार पाए । बौदीकालीका अशोक श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ७ हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी, उत्कृष्ट सर्भर बौदीकालीका आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै उनले जनही नगद ५ हजार पुरस्कार पाए ।


प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्वय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरे ।

Advertisement


युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए । पुस २६ गतेदेखि घाचोकको मेघराज आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । खेल हेर्न माछापुच्छ्रे सहित पोखरा तथा छिमेकी अन्य पालिकाहरुबाट समेत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया