पर्वत अस्पतालमामा डायलासिस सेवा विस्तार

समाधान संवाददाता २०८० माघ २ गते १३:०८

पर्वत ।
पर्वत अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलासिस सेवा विस्तार गरिएको छ । विसं २०७७ साउनदेखि अस्पतालमा ४ अत्याधुनिक उपकरणबाट सुरु गरिएको डायलासिस सेवा विस्तार गरी अहिले १० उपकरणमार्फत सेवा दिन थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए ।


अहिले एकै पटक १० जनालाई सेवा दिन सकिन्छ । ‘बिरामी वेटि¬ङमा बस्नुपर्ने अवस्था छैन, पूर्ण क्षमतामा मेसिन सञ्चालन गरिसकेका छौं”, उनले भने । यसअघि डायलासिस गराउनुपर्ने बिरामीको चाप अत्यधिक मात्रामा बढेकाले सेवा विस्तार गरिएको हो ।


बिरामीको संख्या धेरै भएकाले लामो समयसम्म पर्खेर बस्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । अब भने बिरामीले चाहेकै दिन डायलासिस सेवा दिन सकिन्छ । जिल्लाभित्र रहेका नियमित डायलासिस गर्नुपर्ने मिर्गाैलाका बिरामीलाई लक्ष्य गरी मिर्गाैला उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अहिलेसम्म पर्वतमा यससम्बन्धी उपचार नहुंँदा छिमेकी जिल्ला पोखरा र काठमाडौँ लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।

Advertisement


सेवा विस्तार भएपछि हप्तामा २ पटकसम्म डायलासिस गराउनुपर्ने बिरामीलाई सहज भएको छ । अहिले पर्वत, बागलुङ र म्याग्दीका गरी २६ बिरामीले यस अस्पतालबाट नियमित डायलासिस गराउँदै आएका छन् । ८ शय्यामा नियमित रुपमा बिरामी राखेर डायलासिस गर्न थालेपछि आफूहरुलाई सहज भएको बिरामी अलिमान सुनुवारले बताए । ४ महिनादेखि नियमित डायलासिस गर्दै आएका उनले पहिलेभन्दा अहिले निकै सहज भएको र अस्पताल आएपछि छिटृै सेवा लिन पाइएको सुनाए ।


एक जना बिरामीलाई एक पटक डायलासिस गर्न ४ घण्टा समय लाग्ने र दिनभर दस जनाभन्दा बढीलाई सेवा दिन सकिने अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । सेवा विस्तार भएसँगै घण्टौँसम्म पर्खिनुपर्ने र पैसा खर्च गरी डायलासिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको उनी बताउँछन् ।

Advertisement

अध्यक्ष गिरीका अनुसार मिर्गाैला डायलासिस सेन्टरमा ६ स्टाफ नर्स, २ मेडिकल अफिसर र एक प्राविधिकले २४ सै घण्टा सेवा प्रदान गरिरहेका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै समावेश भई आएको यो सेवाका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेको थियो । डायलासिस गर्नुपर्ने बिरामीलाई पालो कुर्न नपर्नेगरी सहयोग प्राप्त भएपछि सेवा विस्तार गरिएको उनको भनाइ छ ।


अब नियमित सेवा लिनेबाहेक अन्य जिल्लाका बिरामी आएर पनि तत्काल सेवा लिनसक्ने अस्पतालका प्रमुख डा बाँस्तोलाले जानकारी बताए । १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भइरहेको अस्पताल सुविधासम्पन्न भवनमा स्थान्तरण भएसँगै सेवा सुविधासमेत प्रभावकारी बन्दै गएको छ । उक्त अस्पतालले गत वर्षदेखि बिरामीलाई निःशुल्क शय्या उपलव्ध गराउँदै आएको छ ।


अस्पतालमा साना तथा ठूला शल्यक्रिया, मिर्गौलाको निःशुल्क डायलासिस, हाडजोर्नी, दन्त सेवा, आँखा उपचार, एक्सरे तथा भिडियो एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालमै रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन पनि हरेक शय्यामा विस्तार गरिएको छ ।


प्रदेश सरकारवाट ५० शय्याको अस्पतालको अनुमति पाउने प्रक्रियाको पर्खाइमा रहेको यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति नहुँदा भेन्टिलेटर र सघन उपचार कक्ष भने सञ्चालनमा आउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया