विशेषज्ञ बिनाको ‘बिरामी अस्पताल’

सुन्दरकुमार थकाली २०८० माघ ८ गते १०:३३

जोमसोम ।
मुस्ताङ अस्पतालमा दक्ष चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन् । विकट मुस्ताङमा नियमित हवाइ सेवा नहुने र सडक यातायता पुगे पनि टाढा भएकाले हत्तपत्त चिकित्सक जान मान्दैनन् ।


यहाँको जिल्ला अस्पतालमा अहिले एक जना एमडिजिपी चिकित्सक छैनन् । स्थानीय र यहाँ घुम्न आउने पर्यटकलाई समेत स्वास्थ्य समस्या भएमा उपचार नपाउने अवस्था छ । पर्यटकलाई हाइ अल्टिच्युड र दुर्घटना भएमा स्वास्थ्य सेवा पाउन कठिन छ ।


गम्भीर दुर्घटना वा ठूलै उपचार गर्नु पर्‍यो भने सुगमको अस्पतालमा रिफर गर्नुबाहेकको विकल्प देखिँदैन । त्यसैले यहाँका कतिपय मुस्ताङ अस्पताललाई रिफर अस्पताल भन्छन् । संघीयता कार्यान्वयनपछि मुस्ताङ अस्पताल १५ बेडबाट २५ बेडमा स्तरोन्नति भएको छ ।

Advertisement


गम्भीर अवस्थाका बिरामीलाई भ्यान्टिलेटरमा राखेर उपचार गर्न उपकरणको व्यवस्था गरिएको छ । अस्पतालमा प्रसूति शल्यक्रिया तथा अन्य सामान्य अप्रेसन गर्नका लागि उपकरणको छन् । यतिमात्र नभई अस्पतालमा भिडियो एक्सरे, एक्सरे, ल्याब आदिको समेत सेवा छ ।

२५ बेडको मुस्ताङ जिल्ला अस्पतालले अहिले एमडिजिपी डाक्टर नहुँदा सामान्य शल्यक्रिया र प्रसूति सेवासमेत दिन सकेको छैन

Advertisement


तर, अस्पतालमा भएका उपकरण प्रयोग गर्ने तथा रिपोर्ट हेरेर उपचार तथा स्वास्थ्य मरामर्श दिने दक्ष चिकित्सक छैनन् । एमबिबिएस उत्तीर्ण गरी थप ३ वर्ष एमडिजिपी जनरल प्राक्टिस एन्ड इर्मेजेन्सी मेडिसिनमा एमडी गरेका चिकित्सकले सामान्यतया सबै प्रकारका बिरामीलाई उपचार गर्ने सामथ्र्य राख्छन् ।


एमडिजिपी चिकित्सकले इमर्जेन्सी मेडिसिन, इन्टरनल मेडिसिन, सामान्य सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, नशा तथा मानसिक रोग, छाला तथा यौन रोग सेवा दिन सक्छन् । मुस्ताङ अस्पतालमा ५ महिनादेखि एमडिजिपी चिकित्सक छैनन् । अस्पतामा १ जना नवौ तहका चिकित्सकसहित १८ जनाको दरबन्दी छ ।


अस्पताल सञ्चालनको ५० वर्ष पूरा भईसक्दा समेत सरकारले यहाँ नवौं तहका चिकित्सक व्यवस्थापन गर्न सकेको छैन । अस्पतालमा आठौं तहका स्थायी चिकित्सकसहित अरु २ करारका एमबिबिएस चिकित्सक छन् । सामान्य स्वास्थ्य सेवाबाहेक प्रसूति तथा अप्रेसन सेवा अहिले उपलब्ध छैन ।


२०७८ मा अस्पताल व्यवस्थापन समिति र जिल्लाका ५ स्थानीय तहका जनप्रतिनिधिले एमडिजिपी चिकित्सक भर्ना गर्ने र यसका लागि सबै स्थानीय तहले मासिक २० हजार अस्पताललाई उपलब्ध गराउने सहमति गरेका थिए । त्यसपछि अस्पतालले करारमा एमडिजिपी चिकित्सक ल्याउन पहल गर्‍यो । अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ झिकायो ।


उनी आएपछि अस्पतालले दिने सेवा, सुविधामा अपेक्षाकृत सुधार आयो । तर, एमडिजिपी चिकित्सक करिब ७ महिना जति काम गरेपछि बिदा भए । त्यसपछि अस्पतालमा करिब ६ महिना एमडिजिपी चिकित्सकको अभाव भयो । जिल्लाका स्थानीय तहले उपलब्ध गराउने भनिएको मासिक २० हजारसमेत अस्पतालले पाएन । त्यसपछि एमडिजिपी चिकित्सकलाई दिने तलब, भत्तामा समस्या भयो ।


अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले फेरि एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ झिकाए । डा घले आएपछि अस्पतालमा रोकिएको सेवा सञ्चालनमा आयो । उनी पनि ६ महिनाभन्दा बढी अस्पताल टिकेनन् । डा. घले २०८० भदौ १७ गते अस्पताल छोडे । त्यसपछि अहिलेसम्म मुस्ताङ अस्पतालले अर्को एमडिजिपी पाएको छैन ।


अस्पतालको भव्य भौतिक संरचना निर्माणाधीन छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन अनुरोध गरिएको सुनाइन् । उनले यसप्रति प्रदेश सरकारको ध्यान जाओस् भन्दै केही महिनाअघि प्रदेश स्वास्थ्य मन्त्री सुशिला सिंखडासँग समस्या राखिएको सुनाइन् ।


अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले मुस्ताङमा २ जना एमडिजिपी चिकित्सकले छोडेपछि अर्को एमडिजिपी चिकित्सक व्यवस्थापन हुन नसकेको बताए । उनले एमडिजिपी चिकित्सक नहुँदा प्रसूति तथा सामान्य रोगका शल्यक्रिया सेवासमेत दिन नसकएिको उल्लेख गरे ।


मुस्ताङ अस्पतालमा हाल १ आठौं तहका स्थायी चिकित्सक, २ करार चिकित्सक, २ स्थायी स्टाफ नर्स, २ जना स्थायी र २ जना करार अहेब, १ करारका ल्याब टेक्निसियन, २ एक्सरे टेक्निसियन २ छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया