डेढ सय जनाको सित्तैमा जाँच

समाधान संवाददाता २०८० माघ १४ गते ११:३४

पोखरा ।
मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच गरिएको हो ।


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजावतीले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रभन्दा निकै ठूलो रहेको जनाए । उनले रोग लागिसकेपछि भन्दा पनि लाग्न नदिन यस्ता शिविरले सघाउने जनाए ।


वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले मधुमेह, थाइराइड, टिजी जस्ता समस्या आउनै नदिन र आएपछि पनि खानपान र जीवनशैलीको ठूलो भूमिका हुने औंल्याए । उनले भने, ‘मधुमेह रोग होइन, एउटा असन्तुलन हो । यसका कारणले आउने जटिलताहरुचाहिँ रोग हुन् ।

Advertisement

खानपिन र जीवनशैलीलाई ध्यान दिए यो रोग लागिसकेपछि पनि दीर्घजीवन जीवन सकिन्छ ।’ नागरिकलाई सचेत बनाउँदै रोग लाग्न नदिन र लागिहाले पनि उचित उपचारका लागि यस खालका कार्यक्रम निकै उपयोग हुने उनको भनाइ छ ।


युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ संस्थाले स्थापना कालदेखि स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको जनाए । युआरएलको १० वर्षे यात्रामा यसले १ लाख ७० हजारभन्दा बढीलाई शिविरहरुमार्फत् सित्तैमा सेवा दिएको छ । अध्यक्ष पन्तले भने, ‘अब विशेषज्ञ सेवासहित दुर्गम ठाउँमा पनि शिविर गर्ने योजनामा छौँ । हामी विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ५८ औँ शिविर हो ।

Advertisement


मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी र जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया