तालचोकमा सुलभ बजार सञ्चालन

समाधान संवाददाता २०८० माघ १५ गते १२:५९

लेखनाथ ।
पोखरा २७को तालचोकमा फलफूल तथा तरकारीजन्य वस्तु संकलन तथा बिक्री वितरण गर्ने उद्देश्यले शुलभबजार तरकारी मण्डी सञ्चालनमा आएको छ । किसानबाट उत्पादीत तरकारी सिधै बजारीकरण गर्न सहज हुने गरी सञ्चालनमा अएको सुलभबजार हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement


बजारको उद्घाटन गर्दै कलाकार गिरीले सम्भावनाको खोजी गर्दै अधिकांश युवा विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमा नै केही गरौं भन्ने उद्देश्यले बजार सञ्चालनमा ल्याएकोमा सञ्चालकहरुलाई धन्यवाद दिए । उनले यसले धेरै कृषकको भावनालाई सम्बोधन गर्ने भन्दै उत्पादनलाई बजारीकरण गर्नुका साथै उपभोक्ताहरुका लागि पनि नाम जस्तै शुलभ बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।


कलाकार गिरीले मुलुकका समृद्धिका कुरा गरे पनि देशको राजनीति सहज नहुँदा किसानले उत्पादन गरेका वस्तुले बजार नपाएको सुनाए । उनले राजनीतिक अस्थिरताको मारमा किसानदेखि उपभोक्तासम्म पर्ने गरेकाले यसका लागि राज्यले नीतिगत रुपमा सम्बोधनसँगै फिल्डमै किसानमैत्री योजना कार्यान्वयन गर्नुपर्ने विचार राखे ।

Advertisement


कलाकार दीपाश्री निरौलाले बजार सञ्चालनमा आएकोमा बधाई दिइन् । उनले सर्वसुलभ रुपमा स्वच्छ र ताजा फलफूल, तरकारी उपलब्ध हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का अध्यक्ष ढकनाथ कँडेलले स्थानीय कृषकका उत्पादनलाई बजारीकरण गर्ने थलोको रुपमा बजार स्थापित गरिएकोमा खुसी व्यक्त गरे । उनले अर्गानिक र स्थानीय उत्पादनलाई जोड दिन आग्रहसमेत गरेका थिए ।


वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय स्तरमा कृषकले गरेका उत्पादनलाई उचित तवरले व्यवस्थापन गर्न आग्रह गरे । उनले स्वच्छता कायम गर्ने विषयमा महानगरपालिकाले समेत निकट भविष्यमा मापदण्ड तय गर्ने जनाए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अधिकांश कृषि उपज आयात गर्नुपर्ने अवस्था रहेकोमा स्थानीय कृषकलाई प्रर्वद्धन गर्ने उद्देश्यले खोलिएको बजारबाट कृषक एवं उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

Advertisement


बजारका सञ्चालक प्रमोद भण्डारीले रुपा गाउँपालिकदेखि बेगनास, माझठाना, वरपौवासम्मका कृषकलाई ढुवानीदेखि उत्पादनको भुक्तानीसम्मका प्रक्रियामा सहज हुने गरी उपयुक्त स्थान चयन गरिएको जनाए ।


बजारका अध्यक्ष वीरभद्र कँडेलले मुलुकको बिग्रदो अर्थतन्त्र, युवाको बढ्दो विदेश पलायनको अवस्थामा पनि इच्छा, आकांक्षा र जाँगर चलाउने हो भने स्वदेश मै केही गर्न सकिने सुनाए । स्थानीय ६ व्यवसायीले ६० लाख लगानीमा चलाएको बजारमा २५ सटर छन् ।

तपाईको प्रतिक्रिया