पर्यटन बोर्डमा पोखरेली प्रतिनिधित्व माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

पोखरा
नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखराको पनि प्रतिनिधि सुनिश्चित गर्न यहाँका पर्यटन व्यवसायीले माग गरेका छन् । पर्यटनमन्त्री सूदन किराँतीलाई ज्ञापनपत्र लेख्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् ।
पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले उक्त मागसहितको ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले कार्यकारी सदस्यका लागि सबै संस्थाले मिलेर साझा प्रतिनिधित्व रहने गरी सिफारिस गर्न तयार रहेको पनि बताएका छन् ।
‘देशकै पर्यटकीय नगरी पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थाले गर्दा पोखरा र सेरोफेरोका पर्यटकीय गन्तव्यहरु छायामा परिरहेका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसमा पनि प्रवद्र्धनका लागि स्थापित नेपाल पर्यटन बोर्डको ठूलो, रकम प्रवर्धन भन्दा पनि विकास निर्माणतिर विनियोजित हुनु आफैमा दुभाग्यपूर्ण छ ।’
पर्यटकिय राजधानी शहरको रुपमा घोषणाको प्रक्रियामा रहेको पोखरा जोडने मुख्य सडकहरुको हालको अवस्था विकराल रहेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेकोबारे पनि उनीहरुले ध्यानाकर्षण गरेका छन् । ६ खर्बभन्दा बढी निजी क्षेत्रबाट पोखराको पर्यटनमा लगानी भएको उनीहरुको भनाइ छ ।
‘पोखरा र समग्र पर्यटनको विश्ववजारमा थप बजारीकरणको आवश्यकता रहेको अवस्थामा पर्यटनको प्रवर्धन र विकासका लागि स्थापना भएको नेपाल पर्यटन बोर्ड आफैमा सुस्ताउन पुग्यो भने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय त छ कि छैन व्यवसायीले कुनै अनुभुति समेत गर्न पाएका छैनन्,’ ज्ञापनपत्रमा भनिएको छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।


तपाईको प्रतिक्रिया