मुस्ताङमा प्रहरीलाई १६ प्रकारका औषधि सहयोग

समाधान संवाददाता २०८० माघ १८ गते ११:३२

जोमसोम ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत जिल्लाका ४ वटा प्रहरी ईकाइलाई १६ प्रकारका औषधि सहयोग प्राप्त भएको छ । हिउँदयामको अत्यधिक चिसोका कारण मुस्ताङमा कार्यरत सुरक्षाकर्मी तथा मुस्ताङ भ्रमण गर्ने पर्यटकको स्वास्थ्यमा समस्या पर्ने भएकाले ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंले १६ प्रकारका औषधिसहितको स्वास्थ्य सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई पठाएको हो ।


मुस्ताङ प्रहरीलाई पठाइएको औषधिसहितको ४ थान प्राथमिक उपचार बक्स प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । चिसोका कारण हुने रुघाखोकी लगायत समस्याबाट सहज रुपमै उपचार प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई त्रिपुरेश्वर अस्पतालले सामान्य प्राथमिक उपचारका लागि औषधि उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।


मुस्ताङ प्रहरीलाई प्राथमिक उपचारका लागि प्राप्त औषधिसहितको बक्स प्रहरी चौकी घाँसा, कागबेनी, कोबाङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथलाई एक÷एक थान वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । पर्यटक आवागमन हुँने र चिसोयाममा समेत निरन्तर खटिरहनुपर्ने भएकाले प्राथमिकताका आधारमा ४ प्रहरी ईकाइलाई औषधि वितरण गरिएको हो ।

Advertisement


हिउँदयामसँगै मुस्ताङमा अत्यधिक चिसो बढेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा माइनस २० डिग्री र तल्लो मुस्ताङ क्षेत्रमा माइनस १० डिग्री तापक्रममा झरेको छ । जिल्लाका अधिकांश नागरिक र कर्मचारी जाडो छल्न बेसी झरेसकेका छन् । मुस्ताङका सुरक्षाकर्मीले भने अत्यधिक चिसोका बावजुद सुरक्षाकर्मीमा खटिरहेका छन् ।

चिसोले सुरक्षाकर्मी र जिल्ला भित्रिने पर्यटकहरुलाई हाईअल्टिच्युड तथा रुघाखोकी र निमुनिया हुने बढी सम्भावना रहन्छ । यसैका कारण प्रहरी ईकाईलाई प्राप्त १६ प्रकार औषधिले निकै ठूलो सहयोग पुगेको प्रहरी नायब उपरीक्षक पाण्डेले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया