सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पनि उजुरी

समाधान संवाददाता २०८० माघ २३ गते १०:३१

पोखरा ।
सूर्यदर्शन सहकारीका बचतकर्ताले रवि लामिछानेमाथि पनि अनुसन्धानको माग गर्दै कास्की प्रहरीमा सोमबार उजुरी दर्ता गराएका छन् । सहकारीका संस्थापक अध्यक्ष जिबी राईसँग साझेदारी गरी लामिछाने ग्यालेक्सी टेलिभिजनमा आवद्ध भएका थिए । सो टेलिभिजन खोल्न र सञ्चालन गर्न सूर्यदर्शन लगायत सहकारीको पैसा हिनामिना गरेको आरोप राईमाथि छ । सोही आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि पनि लाग्दै आएको थियो ।


कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण विकले उजुरी परेको पुष्टि गरे । उनले यस विषयमा थप अनुसन्धान गर्ने पनि सुनाए । यसअघि कास्की प्रहरीले उजुरीकै आधारमा आरोपित व्यक्तिहरुलाई पक्राउ पुर्जी जारी गर्दै पक्रेको पनि छ । फरार जिबी राईविरुद्ध डिफ्फुजन नोटिस नेपाल प्रहरीले जारी गरेको छ । सूर्यदर्शन सहकारीका उपाध्यक्ष, कोषाध्यक्षसहितका व्यक्तिहरु पक्राउ परी कारागार चलान भएका पनि छन् ।


रवि लामिछानेका विरुद्ध भने अहिलेसम्म उजुरी परेको थिएन । के उनलाई पनि अरुलाई जस्तै पक्राउ पुर्जी जारी हुन्छ ? भन्ने प्रश्नमा डिएसपी विकले थप अनुसन्धानपछि मात्रै के हुन्छ भन्न सकिने बताए ।

Advertisement


सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङउर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल, उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई विभिन्न मितिमा पक्राउ गरेको छ । १५ जना अझै फरार छन् । फरारहरुको खोजी भइरहेको डिएसपी विकले बताए । सहकारीका बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ दावीसहित सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

Advertisement


सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो । सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि १ हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो ।

जाहेरीमा ठगिएको रकम १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो । सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ’डिफ्युजन नोटिस’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको थियो । कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको थियो ।

तपाईको प्रतिक्रिया