सम्पादकीयः बाँदरमाथिको अनुसन्धान

समाधान संवाददाता २०८० माघ २९ गते ११:५०

बाँदरले गाउँबस्तीमा आतंक मच्चाएको छ । बाँदर धपाउन अचेल बन्दुक पनि काम नलाग्ने भइसक्यो । बाँदर मार्न पाइन्न र हुन्न । तर तर्साउने प्रयोग गरिएको बन्दुकको उपाय काम नलाग्ने भएको छ । ऊ त्यसको आवाजसँग डराउन्न । अफ्रिकातिर ड्रोन उडाउने र अरु जंगली जनावारको आवाज सुनाउने गरिएको रहेछ । त्यो उपाय नेपालका लागि महँगो पर्छ । र, बाँदरले त्यो यन्त्रसँग पनि आफूलाई अनुकुल बनाइसकेको छ । घर गाउँतिर वुद्धवृद्धा, महिला र केटाकेटीलाई लुछ्नै आउने बाँदर अचेल कसैसँग पनि नडराउने हुन थालेको छ । जसरी अरु प्राणी पनि वातावरण र प्रविधिसँग अभ्यस्त हुन्छन्, त्यस्तोमा सबैभन्दा चलाख बाँदर नै छ । ऊ आफ्ना विरुद्ध कसले गरेको छ भन्ने बुझ्छ र मानिससँग द्वन्द्व गरिरहन्छ ।


जंगलमा बाँदरको आहारा नभएको कतिपयले बताउने गरेका छन्, त्यो साँचो हो भने जंगलमा फलफूलका बिरुवा रोपेर उसलाई उतै भुलाउनुपर्छ । गाउँघरतिर पस्न दिनु हुन्न । कतिपय अवस्थामा गाउँबस्ती रित्तिँदा रुख र झाडी अनि बोटबुट्यान बढ्दा बाँदर आए भनिएको छ, तर त्यसो होइन भन्ने अनुसन्धानकर्ता बताउँछन् । चितवनको एउटा गाउँमा जंगलतिर नै फलफूलका रुख रोप्दा बाँदर आउन छाडेको उदाहरण छ । त्यो उपायको प्रयोग अरु ठाउँतिर गर्न पनि प्रेरित गर्नुपर्छ ।


बाँदरको संख्याका बारेमा पनि अनुसन्धान हुनुपर्छ । संख्या धेरै छ भने त्यसको नियन्त्रणका लागि अरु उपाय पनि निस्कन सक्छन् । पृथ्वी मानिसको मात्रै नभई सबैको साझा घर भएको हुँदा बाँदरको नियन्त्रणको नाममा उसको विनाशको कल्पना कसैले पनि गर्नु हुँदैन । उसले पनि बाँच्न पाउने हक उपयोग गर्ने सुनिश्चित गरी मानवीय सुरक्षा गर्नुपर्छ । मानिसले गरिरहेको खेतीपातीको सुरक्षा गर्नुपर्छ । बाँदर नियन्त्रणका अनेक उपाय रचिँदा उसको जीवन र अस्तित्व रक्षा पनि प्राथमिकतामा हुनुपर्छ ।

Advertisement

तर अनुसन्धानहरु कतिपय फेल पनि भएका छन् । सरकारले बाँदरको समस्या देशभरका गाउँभरि छ भन्ने हेक्का नराखेको महसुस सबैतिर भइरहेको छ । अचेल त गाउँघरतिर निर्वाचनमा भोट माग्न जानेहरुलाई विकास माग्नेभन्दा धेरै बाँदर नियन्त्रणकै मुद्दा उठाइरहेका हुन्छन् । तै पनि जनप्रतिनिधिहरुले केही गर्न सकेका छैनन् । यो स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिको मात्रै बसको बात होइन, संघले नै थप अनुसन्धान गरी नियन्त्रणको उपाय खोज्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया