सुदर्शन रञ्जितलाई एनएसजेएफ स्पेशल अवार्ड

समाधान संवाददाता २०८० फागुन १ गते ११:०५

पाेखरा ।

Advertisement

नेपालमा यस्ता थुप्रै व्यक्तिहरु छन् जसमा खेलकुद मोह बेजोड छ र भित्रि मनदेखि नै खेल क्षेत्रको भलो गर्न अग्रसर हुने जाँगर पनी, पोखराका सुदर्शन रञ्जित त्यस्तै एक उदाहरण हुन्। सामान्यरुपमा बुझ्नेहरु उनलाई पोखराका फोटो पत्रकार भन्छन्, अल्लि बढी बुझ्नेले सहारा क्लबका एक सदस्यको रुपमा मात्र चिन्न सक्छन्।


तर सुदर्शनको परिचय यत्तिमै सीमित गर्दा न्याय हुनै सक्दैन। उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही अनि पोखरेली खेलकुदका अभियन्ता पनि, यी सबैका कम्बो पात्र हुन् सुदर्शन रञ्जित।

Advertisement


चार दशक भन्दा बढी भयो होला, पोखरामा हुने खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस्। माछापुच्छ्रेकाे आवरणमा एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वर्षको उत्कृष्ट तस्विरुको अवार्ड नै जित्यो।


खेलाडीलाई सहयोग गर्ने सुदर्शनको जुनुन यस्तो छ की अनिल गुरुङ, सिपोरा गुरुङ, मञ्जु गुरुङ जस्ता थुप्रै पात्रहरु अन्तर्राष्ट्रिय खेल मानचित्रमा अग्लिदा सुदर्शनको विम्व त्यहाँ महशुश हुन्छ नै। पोखराको स्थापित आहा रारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका सानो हुनसक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिका बालिग खेलाडी बन्दा, साहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि बढेको छ।

Advertisement


खेलकुद क्षेत्रको विकृतीमा की सुदर्शनको क्यामरा बोल्छ की आफै। पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस्, रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन। उनले गरेको स-साना लाग्ने खवरदारीले ठूलो राम्रो परिणाम दिएको देख्न सकिन्छ।


खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक वढी विताईसक्दा आर्थिक उपार्जन गर्ने थोपा उदेश्य देखिन्न। न त नाम र सम्मानको भोको नै। खालि खेलकुद प्रतिको एउटा जुनुन, त्यो पनि ६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थ।
अनि त भनिन्छ नी सुदर्शन जस्ता व्यक्तिहरु छन् त देशमा खेलकुदको पनि इज्जत छ। यी नै सामान्य देखिने सुदर्शन रञ्जितलाई नेपाल खेलकुद पत्रकार मञ्च प्रदान गर्दछ एनएसजेएफ स्पेशल अवार्ड २०७९।

तपाईको प्रतिक्रिया