दूरसञ्चारलाई स्वायत्त कम्पनी बनाउन माग

समाधान संवाददाता २०८० फागुन १ गते १२:०५

पोखरा ।
नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन)ले कम्पनीको पुनर्संरचना गरी स्वायत्त बनाउन माग गरेको छ । पोखरामा भएको १० औं केन्द्रीय परिषद्ले कम्पनीको स्वयत्तता र व्यवस्थापकीय सुधारको माग गरेको संगठनका अध्यक्ष मोहनप्रसाद फुयालले जानकारी दिए ।

Advertisement


‘संस्था समृद्धिमा हाम्रो ध्यान, असल कार्य संस्कृति एनटिन अभियान’ भन्ने नारासहित भएको परिषद्ले २१ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा संस्थागत सुधारका विषयका १५ बुँदा र पेशागत हकहित तथा सुरक्षाका सवालका ६ बुँदा समेटिएका छन् ।


‘परिषदले कम्पनीको स्वायत्तता, व्यवस्थापकीय सुधार, लगानी विविधकरण र स्रोत उपयोगको सवाल उठाएको छ,’ अध्यक्ष फुयालले भने, ‘कम्पनीको पुनर्संरचना, प्रविधि र पूर्वाधार, साइवर सुरक्षा, ग्राहक सेवा, दूरसञ्चार क्षेत्रको स्थायित्व, कार्य संस्कृति र कर्मचारी सरोकारमा आगामी यात्राको दृष्टिकोणसहितको पोखरा घोषणापत्र जारी गरिएको छ ।’

Advertisement


उनले परिषद्ले कम्पनीको संस्थागत सुदृढीकरण, सेवा विस्तार, गुणस्तर सुधार र कर्मचारीको वृत्ति विकास, सेवा सुविधा र ट्रेड युनियन अधिकारका लागि संगठन सशक्त ढंगले क्रियाशील रहने संकल्प प्रस्ताव पारित गरेको बताए । संगठनका प्रचारप्रसार उमहासचिव गोविन्द ढुंगानाका अनुसार नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको परिषद्मा केन्द्रीय समिति, केन्द्रीय विभाग, प्रादेशिक तथा इकाइ समितिसमेत गरी देशभरबाट २ सय जना पार्षदको सहभागिता थियो ।


उनले परिषदमा विगतमा संगठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गरिएको बताए । कर्मचारी, कम्पनी तथा ग्राहकको वर्तमान अवस्थाको वस्तुगत विश्लेषणसहित आगामी दिनको वृहत्तर हितका लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन विचार विमर्श गरिएको प्रचारप्रसार उपमहासचिव ढुंगानाले जानकारी दिए । परिषद्ले सांगठनिक, आर्थिक प्रतिवेदनलाई पारित गर्नुका साथै समयको माग अनुसार विधान संशोधन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया