लेखनाथ उद्योग वाणिज्य संघमा सेयर बजार सम्बन्धी सचेतना

समाधान संवाददाता २०८० फागुन २ गते १३:५६

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्वय श्याम मण्डल र भूपति पाण्डेले प्रशिक्षण दिएका थिए ।

Advertisement


कार्यक्रममा देशको वित्तीय प्रणाली, धितोपत्र बजारको महत्व, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धी ऐन, नियम, धितो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, लगानी गर्दा हुने फाइदाहरू, प्राथमिक बजार र दोस्रो सेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष बाबुराम गिरीले राष्ट्र बैंक, धितोपत्र बोर्ड र जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिलेको पुँजीबजारको समस्या समाधानका लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।

Advertisement


यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरि बुढाथोकीले विगत २ वर्षदेखि निरन्तर घटिरहेको सेयर बजार छिट्टै आउन लागेको राष्ट्र बैंकको मौद्रीक नीति पछि सुधार हुने आशा व्यक्त गरेका थिए । तर, यही कारणले धितोपत्र बजारमा ठूलो उछाल आउने सम्भावना भने नदेखिएको उनले बताए । पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँतमात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैंकले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझाव दिए ।


उक्त अवसरमा नेपाल स्टक हाउस प्रालिका गोकुल रिमालले धितोपत्रबजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी दिनुका साथै देशको वर्तमान आर्थिक परिदृश्यबारे चर्चा गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया