सम्पादकीयः मध्यपहाडको विकासमा एमालेको ताकेता

समाधान संवाददाता २०८० फागुन ४ गते १४:४१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) आसपासको समग्र विकासको लागि चिन्ता र चासोलाई निरन्तर रुपमा अगाडी बढाएको छ । गत मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझायो । अहिले त्यही विषयमा एमालेको प्रतिनिधिमण्डलले सरकारका मुख्यसचिवसहित प्रशासनिक निकायका पदाधिकारीहरुबीच सिंहदरबारमा छलफल गरेको छ ।


सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएको एमालेको ध्यानाकर्षणपत्रको सम्बन्धमा मन्त्रालयगत रूपमा कार्यान्वयनको लागि आवश्यक छलफल समेत भएको हो । सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल लगायत मन्त्रालयका सचिवहरु एमालेले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्य पहाडी क्षेत्र र आसपासका ठाउँहरूको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्नु पर्नेमा सहमत भएका छन् ।


पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । समग्र नेपालको विकासको लागि पहाडी क्षेत्रको विकासले अर्थ राख्छ । लोकमार्गको परियोजना पुरा भएपछि मध्य पहाडी क्षेत्रको समग्र विकासमा सहयोग पुग्छ । अहिले मध्यपहाडका गाउँवस्तीबाट बसाइँसराइँ चुनौतीको रुपमा देखा परेको छ । कतिपय गाउँवस्तीहरु रित्तिँदै गएर मलामीको समेत अभाव छ ।

Advertisement

बसाइँसराइँको यो नकारात्मक प्रवाहका पछाडि केही वाध्यात्मक कारणहरु भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले समेत काम गरेको छ । उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु बसाइँसराइँको एउटा कारण बन्न पुगेको छ । विदेशी मुलुकका कृषि उत्पादको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहान नियन्त्रण गर्न, पुँजी र प्रविधिको प्रबन्ध सरकारले तत्काल गर्न पर्छ । पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेको नोक्सानी र पीडा पनि बसाइँसराइँको कारक बन्न पुगेको छ । त्यसैले बसाइँसराइँको क्रमलाई न्यून गर्न सरकारले तत्काल पहल गर्नुपर्छ ।


मध्य पहाडी क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको छ । त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन पर्छ । लोकमार्गमा पर्ने विभिन्न भूभागमा आधुनिक सहरहरुको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक छ । त्यसैले लोकमार्गको परियोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्न सरकारले सबै केन्द्रीत गर्नु पर्छ । मध्य पहाडी क्षेत्रमा नै भविष्य सुनिश्चित छ भन्ने सन्देश दिने गरी आगामी नीति तथा कार्यक्रम बनाउनु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया