मित्र मिलन सहकारी प्रकरण: पराजुलीसहित ६ धरौटीमा छुटे

समाधान संवाददाता २०८० फागुन ७ गते ११:२८

पोखरा ।
मित्र मिलन सहकारी ठगीका आरोपित जनकल्याण पराजुली धरौटीमा छुटेका छन् । आइतबार जिल्ला अदालतमा उपस्थित भएका पराजुली ३ लाख रुपैयाँ धरौटीमा छुटेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।


न्यायाधीश नवराज दाहालको एकल इजलासले पराजुलीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । पराजुली मित्रमिलन सहकारीमा कानुनी सल्लाहकार थिए । यो सहकारीको मुद्दामा पराजुलीसहित हालसम्म ६ जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।


त्यसअघि सुरेशकुमार श्रेष्ठ ७ लाख, हरेराम भण्डारी ७ लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

Advertisement


पराजुलीसहित हालसम्म १२ जना कानुनी दायरामा आइसकेका छन् । त्यसमध्ये ६ जना धरौटीमा छुटेका छन् भने बाँकी ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अझै २१ जना फरार छन् ।


यसरी कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल छन् ।

Advertisement


मित्र मिलन सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना गरिएको भन्दै ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तपाईको प्रतिक्रिया