पर्यटक पिछा गर्नेलाई कारबाहीको माग

समाधान संवाददाता २०८० फागुन १० गते ११:१४

पोखरा ।
पोखराका होटल सम्वद्ध २ संस्थाले यस क्षेत्रको भ्रमणमा आउँदै गरेका पर्यटकलाई विच बाटोबाटै पिछा गरी जबरजस्ती आफूले भनेको होटलमा पुर्‍याउने व्यक्ति र गिरोह विरुद्ध कार्वाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।

Advertisement


होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीका तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई बुधबार भेट गरी पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अबाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्‍याउने प्रवृति विरुद्ध अपरेसन अगाडि बढाउन माग गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यसका अतिरिक्त विभिन्न खालका ध्वनि प्रदूषण र अन्य सामाजिक विकृति विरुद्धसमेत कारबाही अगाडि बढाउन माग गर्दै आपूmहरु जिप्रका पुगेको उनले बताए ।


संघका तर्फबाट प्रहरी उपरीक्षक थापालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘हाल पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु– छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो किमि, जरेबर, हल्लन चोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरुमा होटलका कर्मचारी तथा सञ्चालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, वलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पर्यटकहरुलाई सुरक्षित र स्वइच्छाले पूर्व निर्धारित तय भएको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएकोले उक्त कार्यलाई निरुत्साहीत गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई कारवाही गरी पाउँ भनी हार्दिक अनुरोध गर्दछौं ।’

Advertisement


होटल संघ पोखरा नेपालका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले रातको समयमा रात्रीकालिन व्यवसायबाट निस्कने मोटसाइकलमा सवार गर्ने व्यक्तिहरुले बन्दुकको आवाज जस्तै गरी ध्वनि निकाल्दै प्रदूषण गर्ने विरुद्धसमेत कारबाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण गराइएको जानकारी दिए । त्यस्ता मोटरसाइकलका कारण शान्त रुपले आराम र वास बसिरहेका पर्यटक र समाजलाई समेत असान्त बनाएको हुँदा त्यस कार्यमा संलग्न व्यक्ति, सवारीधनी तथा मोटरसाइकल वर्कसप र अतिरिक्त ध्वनि प्रदूषण निकाल्ने सामान वेच्ने पसलहरुलाई समेत कडा कारवाही गर्न माग गरिएको पराजुलीले बताए ।

ध्वनि प्रदूषण र अन्य सामाजिक विकृति विरुद्धसमेत कारबाही अगाडि बढाउन माग

Advertisement


लेकसाइड क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसायहरु अदालतको आदेशद्वारा २४ सै घण्टा खुला हुने भन्ने कुराले राती अवेर सम्म संचालन हुँदा त्यस क्षेत्रको वातावरण अशान्त बन्दै गएको तर्फ समेत संघले ध्यानाकर्षण गराएको थियो । राती अवेर सम्म मापसे चेकिङसमेत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै व्यवसायीले शान्तिपूर्वक बस्न र सुत्न नपाइएको पर्यटकहरुबाट समेत व्यापक गुनासो आएको विषय ध्यानाकर्षण गराएका थिए ।


विभिन्न माइकिङ जन्य गतिविधि, विभिन्न खेलकूदका विजेता टिम वा व्यक्तिबाट र्‍याली नै निकालेर मोटरसाइकल र अन्य सवारीमा होहल्ला गर्दै हिंड्ने कार्य, कतिपय तेस्रो लिंगी वा अन्य माग्नेहरुबाट पसल चाहर्दै माग्दै हिँड्ने कार्य र सडकमा जथाभावी पार्किङ गर्ने कार्यलाई समेत नियन्त्रण गर्न व्यवसायीले प्रहरी उपरीक्षक थापाको ध्यानाकर्षण गराएका थिए ।


समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले पोखराको पुरानो बसपार्क क्षेत्रमा पर्यटकको झोला तान्ने लगायत र अन्य विकृतिजन्य कार्य विरुद्ध कार्वाही अगाडि बढाउन आग्रह गरेका थिए । समितिका अध्यक्ष अम्बिका घिमिरेले पर्यटन तथा होटल क्षेत्रका विकृति विरुद्ध व्यवसायी एक भएर अगाडि बढ्नुपर्ने बताए ।


प्रहरी उपरीक्षक थापाले व्यवसायीले उल्लेख गरेका सबैप्रकारका विकृति विरुद्ध आफूले एक दुई दिनभित्रमा नै वृहत अपरेसन अगाडि बढाउने प्रतिवद्धता जनाए । पर्यटकलाई दुःख दिने र मोटरसाइकलबाट ध्वनी प्रदूषण गर्ने विरुद्ध विगतमा पनि प्रहरीले कार्वाही अगाडि बढाएको स्मरण गराउँदै उनले अन्य विकृति विरुद्ध पनि फरक फरक टिम बनाएर प्रहरी परिचालित हुने बताए । माग्दै हिंड्ने काम कानूनले समेत निषेध गरेको स्मरण गराउँदै उनले अन्य सबै विकृति विरुद्ध अगाडि बढ्दा आफूलाई व्यवसायीको पनि साथ चाहिने प्रहरी उपरीक्षक थापाले बताए ।

तपाईको प्रतिक्रिया