पोखरामा अवैध कल बाइपासको जालाे– मुख्य नाइके श्रीलंकामा, दैनिक साढे ४ लाखसम्म कमाइ

समाधान संवाददाता २०८० फागुन १२ गते १६:४६

पोखरा ।
विदेशबाट कल आउनु नेपालीका लागि नौलो होइन । ‘एक घर, एक विदेश’ भइसकेको नेपाली समुदायमा नेपाल टेलिकमले गत एक हप्तादेखि सूचना प्रवाह गरिरहेको छ—विदेशबाट कल वा म्यासेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहोला ।

Advertisement


टेलिकमको यो म्यासेजको अर्थ सामान्य छैन । विदेशबाट आउने कल सीधै अन्य ठाउँबाटै अवैध बाइपास हुँदा आगमन कलबाट हुने आर्थिक नोक्सान र व्यक्तिगत गोपनियता भंग भइरहेपछि नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणको सहयोगमा यस्तो म्यासेज पठाएको थियो । साथै, यसरी अवैध कल बाइपास हुने गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कल बाइ पास भइरहेको विषयमा अनुसन्धान थाल्यो । कल बाइ पास हुनेमा कास्कीको पोखरामा पनि रहेको ब्युरोले पत्ता लगायो । अनि, कास्कीमा थप अनुसन्धानमा खटायो अनुसन्धान ब्युरोमा कार्यरत इन्स्पेक्टर प्रदीप खत्रीसहितको टोली ।

Advertisement


टोलीले कास्की प्रहरीको समन्वयमा कल बाइपास गर्दै आएका २ जनालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ फूलबारी स्थित विशाल गौतमको ३ तले घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल पोखरा ११ फूलबारी बस्ने २७ वर्षीय ईमरान अहमद र पर्सा सखुवापर्सौनी गाउँपालिका ५ घर भई फूलबारी नै बस्ने ३७ वर्षीय विशाल साह कलबार छन् ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले उनीहरु दुवैले पोखरामा कल बाइ पाससँगै कपडा पसलसमेत सञ्चालन गर्दै आएको जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु व्यापारीको आवरणमा बसेर अवैध धन्दा गरेको देखाएको छ ।


उनीहरुको साथबाट प्रहरीले ६४ पोर्ट भएको अवैध कल बाइपास (भिओआइपी) गर्ने उपकरण गेटवे २ वटा नियन्त्रणमा लिएको छ । उक्त उपकरणमा जडान भएका ६४ वटा सिम र ती उपकरणका २ वटा चार्जर नियन्त्रणमा लिइएको छ । साथै, प्रहरीले ओल्डलिंकको राउटर, युपएस, एक्सटेन्सन कर्ड, नेट फाइबर वाइर २, पेन ड्राइभ, एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइलसमेत वरामद गरेको छ ।

Advertisement


उनीहरुबाट प्रहरीले चेक बुक २ वटा, एनसेलका सिम ५ सय ९७ वटा नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए । नियन्त्रणमा लिएका दुवै जनालाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुसन्धानपछि मुद्दा चलाइने थापाको भनाइ छ ।

मुख्य नाइके श्रीलंकामा

पोखराबाट अवैध कल बाइ पास गरेर पक्राउ परेका दुवै जना एजेन्टमात्र भएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुलाई काम लगाउने र काम सिकाउनेहरु श्रीलंकामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।
उनका अनुसार ती नाइकेबारे प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अुसन्धान गरिरहेको छ भने उनीहरुले अन्य ठाउँमा कहाँ कहाँ यसरी अवैध कल बाइ पास गरिरहेका छन्, खोजी भइरहेको एसपी थापाको भनाइ छ ।


यसरी पोखरामा नियन्त्रण लिइएकाहरुले दैनिक १० घन्टासम्म कल बाइपास गर्दै आएको अनुसन्धानमा देखिएको छ । ६४ पोर्टको एउटा कल बाइ पासबाट दैनिक २ लाख २१ हजारसम्म कमाउने सक्ने क्षमता रहेको एसपी थापाले बताए ।
दुवै कल बाइपास दिनभरी चलाउँदा साढे ४ लाखसम्म कमाउन सक्ने क्षमताका डिभाइस रहेको उनको भनाइ छ । यी डिभाइस फेब्रुअरी १ बाट पोखरा ११ फूलबारीमा सञ्चालन गरिएको अनुसन्धानबाट देखिएको छ ।

कसरी हुन्छ अवैध कल बाइ पास ?


केन्द्रीय अनुसन्धान ब्युरोका इन्स्पेक्टर प्रदीप खत्रीका अनुसार एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम कल बाइपास हो । नेपालमा दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएरमात्र कल बाइपास गर्न मिल्छ । यो काम नेपालमा नेपाल टेलिकम, एनसेलले लगायतले गर्ने गरेका छन् । यसरी दर्ता नभई पोखरामा भएको अवैध गेटवे नै हो ।


यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । दूरसञ्चार वा नेपालमा दर्ता भएको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुँदा कहिले विदेशी नम्बर देखिने, कहिले लोकल नम्बर देखिने प्रहरी स्रोतका भनाइ छ ।
यसरी अवैध कल बाइपासबाट एक मिनेटमा ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म कमाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । यसरी गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भिओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जिओआईपी (जिएसएम ओभर इन्टरनेट प्रोटोकल) र दूरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँदै आएका थिए ।


तपाईको प्रतिक्रिया