सहकारी समस्यामा सरकार रमिते, सूर्यदर्शनका मुख्य सञ्चालक खै ? सांसद विद्या भट्टराई

पोखरा ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले पोखराका हजाराैं बचतकर्ताको करोडाै रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका सञ्चालक तुरुन्त पक्राउ गर्न माग गरेकी छन् । सरकारले गम्भीरतापूर्वक चासो नदिएकै कारण मुख्य दोषीहरु पक्राउ नपरेको उनकाे दावी छ ।
आइतबार (आज) प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संचालन प्रक्रियामा विचलन आएको भनी गत भदौ २५ गते नै सरकारलाई सुझाएको उल्लेख गर्दै उनले भनिन्, ‘सूर्य दर्शन सहकारीका मुख्य संचालकहरुलाई फरार सूचीमा राखी सरकार रमिता हेरिहरको छ । रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीलाई गर्न कसले रोक्यो ? म सरकारसँग स्पष्ट जानकारी माग गर्दछु ।’
उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक पटक सम्प्रेषण भएको छ । तर, सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छैन् भन्दै उनले जनताको पीडामा सरकार यसरी मुक दर्शक बनेर बस्न नमिल्ने बताइन् ।
तपाईको प्रतिक्रिया