मुख्य सडक छेउमा घर बनाउँदा पार्किङ अनिवार्य

समाधान संवाददाता २०८० फागुन १६ गते १०:१७

पोखरा ।
पोखरा महानगरका मुख्य सडक छेउमा घर बनाउँदा अन्डग्राउन्ड पार्किङ बनाउनैपर्ने भएको छ । पृथ्वी राजमार्गको कोत्रे तालचोक हुँदै पृथ्वीचोकसम्म अन्डरग्राउन्ड पार्किङसहितको भवन बनाउनुपर्ने मापदण्ड जारी भएको छ ।


महानगरले मंगलबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० अनुसार मुख्यबजार नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, नदीपुरदेखि केआइसिंह पुल लामाचौर, न्यूरोड, सिद्धार्थचोक, चिप्लेढुंगा महेन्द्रपुलसम्मका सडक छेउमा भवन बनाउँदा अन्डग्राउन्ड पार्किङ बनाउनुपर्ने हुन्छ ।

यस्तै, रामबजारदेखि वुद्धचोक, घलेचोकबाट वन क्याम्पससम्मको सडक, रानीपौवादेखि भद्रकालीसम्मको सडक र आर्वा साझाचोकसम्म पनि अन्डग्राउन्ड पार्किङ बनाउनुपर्ने नयाँ मापदण्ड छ । महानगरले जारी गरेको मापदण्ड अनुसार तालचोकदेखि बेगनासतालसम्म घर बनाउँदा पनि अन्डग्राउन्ड बनाउनुपर्ने छ । विपी मार्गदेखि मियाँपाटन चोकसम्म घर बनाउँदा पनि अन्डग्राउण्डमा पार्किङ बनाउन जरुरी छ ।

Advertisement


नयाँ मापदण्डअनुसार अब साढे २ आनाभन्दा कम क्षेत्रफल भएको ठाउँमा घर बनाउन पाइने छैन । साढे २ आना मापदण्डमा पनि घर बनाउँदा कार पार्किङ स्थल बनाउनुपर्ने छ भने पार्किङ नबनाएको ठाउँमा क्षेत्रफलको ७० प्रतिशतसम्म मात्र भवन बनाउन पाइन्छ । पोखरा महानगरपालिकाले ५ तलाभन्दा अग्ला भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ ।

फिर्के र सेतीको मापदण्ड घटाएको महानगरले साना खोल्साहरुमा पनि ६ मिटर मापदण्ड तोकेको छ

Advertisement


ताल र खोलामा नयाँ मापदण्ड
महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्डले सामान्य आवासीय भवन थप अग्लो बनाउन अनुमति दिएको छ । अब पोखरामा ५ तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन । पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो । पोखरामा यसअघि ३ तलासम्मका मात्र भवन बनाउन पाइने मापदण्ड थियो ।


‘१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नु पर्दैन,’ महानगरका घर नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।’


पुरानो मापदण्डमा अग्ला भवन बनाउन नपाइने भए पनि पहिला मापदण्ड बमोजिम स्वीकृति लिएर पछि थप अग्ला संरचना बन्दै आएका छन् । अहिले महानगरमा १० तलाभन्दा अग्ला भवन १९ वटा रहेको महानगर तथ्यांक छ ।


औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता भीड हुने ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइको मापदण्ड तोकिएको छ । सय मिटरसम्म लामा संरचनामा ६ मिटरको प्रवेश स्थल हुनुपर्ने मापदण्ड छ भने २ सय मिटर लामा पूर्वाधारमा ८ मिटरको प्रवेश स्थल हुनुपर्छ । यस्ता भीडभाड हुने ठाउँ ४ सय र ६ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाइ क्रमशः ११ मिटर र १४ मिटर हुनुपर्छ । ६ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश त्यसको चौडाइ २२ मिटर हुनुपर्छ ।


फेवातालसहित अन्य तालको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार तय गरिएको छ । फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ । बेगनास र रुपातालको १ सय मिटर र बाँकी तालमा किनारबाट ५० मिटर मापदण्ड तोकिएको छ । महानगरमा रहेका अरु साना पोखरीको वरिपरि किनारबाट ६ मिटर मापदण्ड तोकिएको छ ।


डिल, भीर, पहिरो छेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था छ । ५ मिटरसम्मा अग्ला डिल, भीर पहिरोमा दुई मिटर सेटब्याक राख्नुपर्ने छ भने ५ देखि १० मिटरसम्म ३ मिटर र १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ ।


यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे सात मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक तोकिएको छ ।


नयाँ मापदण्डले पोखरा महानगर हुँदै बग्ने सबै खोला र नदीको मापदण्ड बनाएको छ । सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर बनाइएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा ६ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा सात मिटर छाड्नुपर्ने भएको छ ।


यसैगरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्सानजिक ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।


महानगरका प्रमुख आचार्यले नयाँ मापदण्डबारे पहिला जनचेतना जगाउने, त्यसपछि कार्यान्वयनमा जाने उल्लेख गरे । नयाँ मापदण्डले महानगरका सडकलाई विभिन्न वर्गमा विभाजन गरी सबै सडकको मापदण्ड तोकेको छ । यो मापदण्डले पहिलोपटक पेट्रोल पम्पहरुको मापदण्ड पनि तोकेको छ ।

तपाईको प्रतिक्रिया