मनाइयो मगर एकता दिवस

समाधान संवाददाता २०८० फागुन १६ गते १०:३८

पोखरा ।
पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसका रुपमा मनाउँदै आएका छन् ।

Advertisement


नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी र्‍यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा, भेषभूषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।


कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने मेयर आचार्यले बताए । ‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभूषाको संरक्षण आवश्यक छ’, मेयर आचार्यले भने, ‘मगर भाषा अहिले पुस्तान्तरण हुन सकेको छैन, मगर समुदायको भाषा संरक्षणका लागि प्रस्ताव लिएर महानगर आउनुहोला, हामी सहयोग गर्न तयार छौं ।’

Advertisement


उनले समृद्धिका लागि भौतिक विकाससँगै समुदायको संरक्षण पनि त्यति नै आवश्यक रहेको बताए । ‘हामी विकास भनेको ठूलाठूला भवन, बाटोलाई सम्झिन्छौं, विकास भनेको भौतिक पूर्वाधारमात्र होइन’, उनले भने, ‘समृद्ध हुनका लागि मान्छे जन्मदादेखि मृत्यु हुँदासम्मका संस्कार, संस्कृति संरक्षण र पुस्तान्तरण जरुरी छ ।’


कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले समुदायको कला, संस्कृति, भेषभू षा पुस्तान्तरण नहुनु मुख्य समस्या भएको बताए । वि.स. २०३९ फागुन १५ गते हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघ, संस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।

Advertisement


बुधबार निकालिएको झाँकी र्‍यालीमा नेपाल मगर संघ रामबजार इकाइ प्रथम, चाउथे कमदमार्ग इकाइ समिति द्वितीय, माटेपानी इकाइ समिति तृतीय र अघौं, ढुंगेपाटन र सैनिक बस्ती इकाई समिति सान्त्वना भए । झाँकी र्‍यालीमा प्रथम, द्वितीय र तृतीय भएका इकाई समितिले क्रमशः १०, ७ र ५ हजार र सान्त्वना भएका इकाइ समितिले २/२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


नेपाल मगर संघ कास्की अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट, नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्री, नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फुलकुमारी थापामगर र नेपालमगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापामगर, मगर संघ कास्की उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगर र सचिव लालबहादुर रानामगरले बोलेका थिए ।

तपाईको प्रतिक्रिया