बेनीकाे धवलागिरि माविलाई १ करोड सहयोग जुट्यो

समाधान संवाददाता २०८० फागुन २० गते १३:५९

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित धवलागिरि माविलाई १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । १० जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनःमिलन अभियान मार्फत सो रकम संकलन भएको हो ।


विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणि सापकोटाले ९ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए । संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए । गाउँकै विद्यालयमा १० जोड २ को पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।


२ सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २ सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी रु २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गरेका हुन् ।

Advertisement


विद्यालयमा दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्ष्य गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया